• TOKHA LIVE

      TOKHA LIVE

    • ८ श्रावण २०८३, शुक्रबार १२:५९

    टोखामा गैरन्यायिक सडक विस्तारविरुद्ध सडक पीडितको आवाज, सम्पदा जोगाउन सरकारसँग आग्रह

     

    काठमाडौं । सामाखुसी–टोखा–झोर सडक विस्तारका कारण प्रभावित स्थानीयले विकासका नाममा ऐतिहासिक सम्पदा र मौलिक बस्ती मास्न नहुने भन्दै बुधबार टोखा नगरपालिका–३ मा कोणसभा गरेका छन्।

     

    गैरन्यायिक सडक विस्तार पीडित संघको आयोजनामा भएको कार्यक्रम भोलि (साउन ९ गते) टोखा नगरपालिका–२ र ३ मा हुने बृहत् सार्वजनिक भेलाको पूर्वतयारीस्वरूप आयोजना गरिएको हो।

     

    कार्यक्रमअघि  प्रभावित स्थानीयहरू ससुख्य चौरमा भेला भई ‘सम्पदा मास्न पाइँदैन’, ‘सम्पदा हाम्रो प्राण हो’ र ‘आदिवासीको अधिकार सुनिश्चित गर’ जस्ता नारासहित ऐतिहासिक टोखा बस्तीका वडा नं. २ र ३ को परिक्रमा गरेका थिए। त्यसपछि र्‍याली पुनः ससुख्यमा पुगेर कोणसभामा परिणत भएको थियो।

     

    कोणसभालाई सम्बोधन गर्दै सडक संघर्ष पीडित संघका सदस्य तथा समाजसेवी धर्म डंगोलले विकास आवश्यक भए पनि त्यसका नाममा इतिहास, संस्कृति र समुदायको पहिचान मेटिन नहुने बताए।

     

    उहाँले  सम्पदा र संस्कृति कुनै संरचना मात्र नभई समुदायको पहिचान, इतिहास र पुस्तौंदेखिको जीवनशैली भएको उल्लेख गर्दै त्यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए।

     

    “हामी विकासविरोधी होइनौँ,” उहाँले भने, “तर विकासका नाममा हुने विनाशको विरोधमा छौँ। विकासले नागरिकको जीवन सहज बनाउनुपर्छ, आफ्नो पहिचान र सम्पदा गुमाउने अवस्था सिर्जना गर्नु हुँदैन।”

     

    डंगोलले कुनै पनि सडक विस्तार वा विकास आयोजना अघि बढाउनुअघि वातावरणीय, भौगोलिक, सांस्कृतिक तथा पर्यावरणीय प्रभावको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिए। साथै, वैकल्पिक मार्गको सम्भावना पनि गम्भीर रूपमा मूल्याङ्कन गरेर मात्र निर्णय लिनुपर्ने उहाँको भनाइ थियो।

     

    उहाँले  स्थानीय समुदायसँग पर्याप्त संवाद र सहकार्य गर्दै योजनाहरू अघि बढाइए मात्रै विकास र सम्पदा संरक्षणबीच सन्तुलन कायम गर्न सकिने धारणा व्यक्त गरे।

     

    स्थानीयवासीले विकास आवश्यक भए पनि त्यो ऐतिहासिक सम्पदा, मौलिक बस्ती र समुदायको अस्तित्व जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।उहाँहरूको आग्रह छ, विकासले बाटो मात्र नखोलोस्, इतिहास र पहिचान पनि जोगाओस्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै