टाेखा,काठमाडौं श्रावण ७ । टोखाकी प्रतिभाशाली कराते खेलाडी निसुका महर्जनले बंगलादेशको ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप २०२६ मा स्वर्ण पदक जित्दै नेपालसहित आफ्नो जन्मभूमि टोखाको नाम अन्तर्राष्ट्रिय मञ्चमा उज्यालो बनाएकी छन्।
वर्षौंदेखिको कठोर अभ्यास, अनुशासन र अथक परिश्रमको प्रतिफलस्वरूप प्राप्त यो स्वर्ण पदकले टोक्हावासीमा खुसी र गर्वको अनुभूति थपेको छ। निसुकाको सफलताले खेल क्षेत्रमा सपना देखिरहेका धेरै बालबालिका तथा युवायुवतीलाई नयाँ ऊर्जा र प्रेरणा दिएको छ।
उनको यस ऐतिहासिक उपलब्धिप्रति स्थानीयवासी, खेलप्रेमी तथा विभिन्न सामाजिक संघ–संस्थाले हार्दिक बधाई व्यक्त गरेका छन्। फ्रेन्डसिप ग्रुप अफ टोखा र श्री भगवती क्लब टाेखाले पनि निसुकालाई ‘टोखाको गौरव’ भन्दै सम्मानसहित बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
निसुकाको यो स्वर्णिम सफलताले एउटा खेलाडीको मात्र होइन, टोखाको पहिचान, मेहनत र सम्भावनाको पनि सम्मान बढाएको छ। आगामी दिनमा उनले अझ धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरिएको छ।

