काठमाडौं, साउन ६ । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले काठमाडौं जिल्लाका विभिन्न क्षेत्रका जग्गाको नयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ। मालपोत कार्यालयहरूले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार काठमाडौंमा जग्गाको सरकारी दर प्रतिआना न्यूनतम १ लाख ४३ हजार रुपैयाँदेखि अधिकतम ७६ लाख २० हजार रुपैयाँसम्म पुगेको छ।
काठमाडौंका सबैभन्दा महँगा क्षेत्रमध्ये माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तिसार, जयनेपाल, कान्तिपथ, जमल, दरबारमार्ग र कमलादी क्षेत्रमा मुख्य सडकसँग जोडिएका जग्गा रहेका छन्। यी क्षेत्रको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रुपैयाँ तोकिएको छ। गत वर्ष यी क्षेत्रको मूल्य प्रतिआना ७२ लाख ६० हजार रुपैयाँ थियो।
त्यस्तै रत्नपार्क, पुरानो बसपार्क र सहिदगेट आसपासका जग्गाको सरकारी मूल्य पनि प्रतिआना ७६ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ। पुतलीसडक आसपासका जग्गाको मूल्य भने प्रतिआना ५६ लाख रुपैयाँ पुगेको छ।
डिल्लीबजार मालपोत कार्यालयअन्तर्गत पर्ने क्षेत्रमा कच्ची तथा गोरेटो बाटोले छोएका जग्गाको सरकारी मूल्य प्रतिआना २२ लाखदेखि ३७ लाख रुपैयाँसम्म तोकिएको छ।
चावहिल मालपोत कार्यालयअन्तर्गत गौशालादेखि धोबीखोलासम्म चक्रपथसँग जोडिएका जग्गाको मूल्य सबैभन्दा बढी प्रतिआना ६२ लाख ७० हजार रुपैयाँ कायम गरिएको छ। अघिल्लो वर्ष यो क्षेत्रको मूल्य ५७ लाख रुपैयाँ थियो।
त्यस्तै कलंकी मालपोत कार्यालयअन्तर्गत बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ४९ लाख ३५ हजार रुपैयाँ तोकिएको छ। यसअघि यो क्षेत्रको सरकारी मूल्य ४७ लाख रुपैयाँ थियो।
कालीमाटी र विष्णुखोला क्षेत्रका जग्गाको मूल्य पनि बढाएर प्रतिआना २३ लाखदेखि ४३ लाख रुपैयाँसम्म कायम गरिएको छ।
काठमाडौं जिल्लामा सबैभन्दा कम सरकारी मूल्य भने बाटो नपुगेका जग्गाका लागि निर्धारण गरिएको छ। गोकर्णेश्वर नगरपालिकाको साविक बालुवा गाविस क्षेत्रमा बाटो नपुगेको जग्गाको मूल्य प्रतिआना १ लाख ४३ हजार रुपैयाँ तोकिएको छ।
घरजग्गा व्यवसायीका अनुसार सरकारी मूल्यभन्दा वास्तविक कारोबार मूल्य भने धेरै माथि हुने गरेको छ।

