काठमाडौं साउन ६ / नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन्।
बुधबार जनकपुरधाममा नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले मधेश प्रदेश राजनीतिक, सामाजिक तथा विकासका दृष्टिले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए।
प्रचण्डले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै यहाँ बलियो संगठन निर्माण गर्न नसकिए देश र कम्युनिष्ट आन्दोलनले ठूलो राजनीतिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने बताए। उनले मधेशमा संगठन विस्तार र पार्टी एकतालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उनले प्रतिनिधिसभा निर्वाचनअघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहे पनि अन्तिम समयमा विकसित अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित नतिजा हासिल गर्न नसकिएको स्वीकार गरे। यस विषयमा पार्टीले गम्भीर समीक्षा गर्ने र संगठन विस्तारका लागि नयाँ ढंगले अभियान सञ्चालन गरिने जानकारी पनि उनले दिए।
प्रचण्डले पार्टी नेतृत्वमा युवाको सहभागिता बढाउने नीति अवलम्बन गरिने बताउँदै पार्टी समितिहरूमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा उनले मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउँदै पार्टी एकतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

