काठमाडौं, साउन ६/ जलवायु परिवर्तन नेपालको अर्थतन्त्र, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य तथा समग्र विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय बनिसकेको भन्दै यसको प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन नीति, प्रभावकारी कार्यान्वयन, हरित उद्यम र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘द ग्रिन टेबल’ कार्यक्रममा जलवायु नीति विज्ञ, ऊर्जा नीति विश्लेषक, पर्वतारोही तथा हरित उद्यमीहरूले जलवायु परिवर्तनका चुनौती, त्यसका प्रभाव र सम्भावित समाधानबारे आफ्ना धारणा राखेका हुन्।
जलवायु नीति विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तन कुनै एक क्षेत्र वा विषयमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसको प्रभाव नेपालको अर्थतन्त्रका सबै प्रमुख क्षेत्रमा देखिन थालेको बताए। उनका अनुसार कृषि, जलविद्युत्, पर्यटनलगायत अर्थतन्त्रका मुख्य आधारहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् भने वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण (रेमिटेन्स) मा समेत यसको अप्रत्यक्ष प्रभावबारे पर्याप्त अध्ययन हुन सकेको छैन।
उनले जलवायु परिवर्तनलाई नीति, कार्यक्रम र बजेटमा एउटा बुँदामा सीमित राखेर नहुने बताउँदै अर्थतन्त्रका सबै क्षेत्रमा पर्ने प्रभाव, भावी पुस्ताले सामना गर्नुपर्ने चुनौती र त्यसबाट सिर्जना हुन सक्ने अवसरलाई समेत समेटेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। ढकालले फोहोरमैला व्यवस्थापन पनि जलवायु परिवर्तनको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै विकसित राष्ट्रलाई मात्र दोष दिनुभन्दा नेपालले आफ्नै फोहोर व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने धारणा राखे।
ऊर्जा तथा नीति विश्लेषक अभिषेक यादवले नेपालले जलवायु कार्यान्वयन योजनाअन्तर्गत नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। जलविद्युत्, सौर्य ऊर्जा, विद्युतीय सवारीसाधनको प्रयोग तथा वन संरक्षणका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले अब विद्युतीय सवारीका ब्याट्रीको पुनःप्रयोग (रिसाइक्लिङ) प्रमुख चुनौतीका रूपमा रहेको बताए।
उनका अनुसार कार्यान्वयन योजनामा ब्याट्री व्यवस्थापनलाई पनि समेटिएको छ र प्रविधिको विकाससँगै कम स्रोतसाधन प्रयोग गरेर अझ प्रभावकारी ब्याट्री उत्पादन गर्ने सम्भावना बढ्दै गएको छ।
पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन थालेको अनुभव सुनाइन्। विगतमा अध्ययन र अनुसन्धानमा मात्र सीमित रहेको विषय अहिले हिमाल आरोहणका क्रममा आफ्नै आँखाले देख्न सकिने अवस्थामा पुगेको उनले बताइन्।
उनले हिमालहरू क्रमशः पग्लिँदै गएको, मौसमको पूर्वानुमानअनुसार अवस्था नहुँदा अचानक तीव्र हावा चल्ने, अत्यधिक हिमपात हुनेलगायतका समस्या बढेको उल्लेख गर्दै यसले हिमाल आरोहणलाई थप जोखिमपूर्ण बनाइरहेको बताइन्।
दन्त चिकित्सक, सामाजिक उद्यमी तथा वातावरण संरक्षण अभियन्ता डा. मनु कार्कीले हरित उद्यम सञ्चालन गरेको सात वर्ष बितिसक्दा पनि जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न नसकेको गुनासो गरिन्। सूचना र वित्तीय पहुँचको अभावका कारण धेरै हरित उद्यमीहरूले अवसर गुमाइरहेको उनको भनाइ थियो।
उनले जलवायु वित्तसम्बन्धी सूचना वेबसाइट तथा सार्वजनिक माध्यममार्फत सहज रूपमा उपलब्ध गराइनुपर्नेमा जोड दिँदै विशेषगरी महिला उद्यमीको पहुँचसम्म यस्ता जानकारी पुर्याउन आवश्यक रहेको बताइन्। साथै, नेपालमा उत्पादन नहुने कच्चा पदार्थ आयात गर्दा करमा सहुलियतको व्यवस्था गरिए हरित उद्योगलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरिन्।

