• TOKHA LIVE

      TOKHA LIVE

    • ६ श्रावण २०८३, बुधबार १६:०३

    महिला, दलित र सबै समुदायलाई अवसर दिएर बीपीले समावेशी लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा

    काठमाडौं, साउन ६/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलहरूले नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण विषयमा पर्याप्त बहस गर्न नसकेको बताएका छन्।

    ४४औँ बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले जननायक बीपी कोइरालाले समावेशी लोकतन्त्रको अभ्यास भाषणबाट मात्र नभई व्यवहारबाट गरेको बताए।

    उनले सामाजिक न्याय, मानव कल्याण, लोकतान्त्रिक मूल्य र नैतिक जिम्मेवारीलाई बीपीको राजनीतिक दर्शनको मूल आधारका रूपमा उल्लेख गर्दै भने, “सामाजिक न्याय, मानव कल्याण, जनताको हित र नैतिक मूल्यलाई बेवास्ता गरेर दिगो विकास सम्भव हुँदैन। बीपीले यी विषयमा केवल चर्चा मात्र गर्नुभएन, आफ्नो राजनीतिक जीवनमै व्यवहार गरेर देखाउनुभयो।”

    थापाका अनुसार बीपी कोइरालाको स्पष्ट विश्वास थियो कि सामाजिक न्याय, मानव कल्याण र सबै समुदायको समान सहभागिताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन। विकासको प्रक्रियामा नैतिक मूल्य र नागरिकको हितलाई प्राथमिकता दिनुपर्ने सन्देश बीपीले आफ्नो राजनीतिक जीवनबाट स्थापित गरेको उनले बताए।

    दक्षिण एसियामै महिलाको राजनीतिक सहभागिता न्यून रहेको समयमा बीपीले मन्त्रिपरिषद्मा महिलालाई अवसर दिएको, दलित नेतालाई पार्टीको महामन्त्री बनाएको तथा विभिन्न जातजाति, भाषा र समुदायका व्यक्तिलाई संसद् र सरकारमा प्रतिनिधित्व गराएको थापाले स्मरण गरे।

    उनले भने, “नेपालको प्रजातन्त्र समावेशी नभई अगाडि बढ्न सक्दैन भन्ने सन्देश बीपीले त्यही बेला व्यवहारबाट दिनुभएको थियो। सबै जातजाति, भाषा र समुदायलाई राज्यका संरचनामा सहभागी गराएर उहाँले समावेशी लोकतन्त्रको उदाहरण प्रस्तुत गर्नुभयो।”

    थापाले जलवायु परिवर्तनको अवधारणा त्यतिबेला प्रचलनमा नरहे पनि बीपीले विकास, सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारीलाई जोड्दै दिगो विकासको आधार प्रस्तुत गरेको उल्लेख गरे।

    उनले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, समावेशिता र सामाजिक न्यायका अवधारणाहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै