नविना श्रेष्ठ
साउन ६, २०८३
जननायक स्वर्गीय बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका–२ वडा कार्यसमितिले निङ्गालो वृक्षारोपण तथा चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम वडा सभापति हेरा काजी महर्जन डंगोलको नेतृत्वमा देरचा महादेव टोलस्थित गणेश मन्दिर पछाडि सम्पन्न भएको हो।
कार्यक्रममा बीपी कोइरालाले नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यताका लागि पुर्याउनुभएको योगदानको स्मरण गरिएको थियो। मृत्युदण्डको सजाय हुन सक्ने सातवटा मुद्दा सामना गर्नुपर्ने अवस्था हुँदाहुँदै पनि राष्ट्रिय एकता र नागरिक स्वतन्त्रताको पक्षमा निर्भीकतापूर्वक स्वदेश फर्किएको उहाँको निर्णयलाई सहभागीहरूले प्रेरणादायी उदाहरणका रूपमा स्मरण गरेका थिए।
सो अवसरमा स्वर्गीय बीपी कोइरालाको भनाइ उद्धृत गर्दै वक्ताहरूले लोकतन्त्र केवल शासन प्रणाली नभई मानिसको स्वतन्त्रता, अधिकार र मर्यादामा आधारित जीवनशैली भएको उल्लेख गरे। “राष्ट्रलाई बलियो बनाउने शक्ति बन्दुकले होइन, जनताको विश्वास र स्वतन्त्रताले दिन्छ,” भन्ने बीपीको विचारलाई वर्तमान सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताइएको थियो।
कार्यक्रममा बीपी कोइरालाको राजनीतिक नैतिकता, लोकतान्त्रिक मूल्य मान्यता, सामाजिक न्याय तथा जनअधिकारप्रतिको प्रतिबद्धताको चर्चा गरिएको थियो। गाउँ, गरिब, किसान तथा विपन्न वर्गको उत्थानलाई राष्ट्रिय विकासको आधार मानेर उहाँले अघि सारेका नीति तथा सरकार सञ्चालनको छोटो अवधिमा लोकतान्त्रिक शासन, सामाजिक परिवर्तन र राष्ट्र निर्माणमा पुर्याएको योगदानको समेत स्मरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल रहने तय भए पनि विभिन्न स्थानमा एकै समयमा आयोजना भएका कार्यक्रमका कारण उहाँ उपस्थित हुन सकेनन्। त्यसैगरी काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ र क्षेत्रीय सभापति श्यामबहादुर खड्काको पनि अनुपस्थिति रहेको जनाइएको छ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि काशीनारायण श्रेष्ठ, क्षेत्रीय प्रतिनिधिहरू, वडा नं. ६ की अध्यक्ष शान्ता पौडेल, पूर्व वडा अध्यक्ष, महिला वडा सभापति तथा नेपाली कांग्रेसका अग्रज नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


