• TOKHA LIVE

      TOKHA LIVE

    • ३० असार २०८३, मंगलवार १८:००

     नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सांसद रिमा विश्वकर्माको आग्रह

     

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताएकी छन्।

     

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले आत्मदाहका बढ्दा घटनाले नागरिकको मानसिक स्वास्थ्यसँगै राज्यको नीति, सेवा प्रवाह र न्याय प्रणालीबारे गम्भीर प्रश्न उठाएको बताइन्।

     

    उनले भनिन्, ‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएका छन्। यस्ता घटनाले नागरिकको मानसिक स्वास्थ्यसँगै हाम्रो राज्य व्यवस्था र नीतिगत प्रक्रियामाथि पनि गम्भीर प्रश्न खडा गरेका छन्।’

     

    विश्वकर्माले सरकारले नीति सुधारका नाममा हतारमा निर्णय गरिरहेको हो कि भन्ने प्रश्न उठाउँदै कानुन निर्माण गर्दा त्यसको प्रत्यक्ष प्रभाव नागरिकमाथि कस्तो पर्छ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आग्रह गरिन्।

     

    ‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन? जसका लागि कानुन बनाइँदैछ, उनीहरू नै मारमा त परिरहेका छैनन्? वा आफ्ना पीडा सुनाउन र न्याय पाउन नागरिकले यस्ता आत्मघाती कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको हो?’ उनले प्रश्न गरिन्।

     

    उनले सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याइन्। राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलतापूर्वक आत्मसात गर्नुपर्नेमा उनले जोड दिइन्।

     

    सांसद विश्वकर्माले हालैका घटनामा ज्यान गुमाएका गणेश नेपाली, विवेश मण्डल र अस्विन राउतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता दुःखद घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी नीति, सहज मानसिक स्वास्थ्य सेवा र नागरिकको गुनासो सुन्ने उत्तरदायी राज्य संयन्त्र निर्माण गर्न सरकारसँग आग्रह गरिन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै