काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त नभई राज्यको प्रणाली र शासन व्यवस्थामै सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पराजुलीले भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धतासहित नेपाली जनताले वर्तमान नेतृत्वलाई जिम्मेवारी दिएको उल्लेख गरे।
उनले भने, ‘देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो। यसलाई जरैदेखि अन्त्य गर्नुपर्छ भन्ने अपेक्षासहित नेपाली जनताले नेतृत्वलाई जिम्मेवारी सुम्पिएका हुन्।’
सांसद पराजुलीले भ्रष्टाचार जहाँ र जसरी भए पनि त्यसविरुद्ध कडा कदम चाल्नुपर्ने बताए। तर, भ्रष्टाचार नियन्त्रण केवल कारबाहीमा सीमित नरही त्यसका कारण र प्रणालीगत कमजोरी हटाउनेतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
उनले राहदानी (पासपोर्ट) छपाइ प्रक्रियासँग सम्बन्धित विषयमा विगतदेखि नै विभिन्न प्रश्न उठ्दै आएको उल्लेख गर्दै त्यसबारे पारदर्शी छानबिन र जवाफदेहिताको आवश्यकता औँल्याए।
सांसद पराजुलीले सार्वजनिक खरिद, सेवा प्रवाह र सरकारी निर्णय प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सके मात्र भ्रष्टाचार नियन्त्रणमा दीर्घकालीन सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरे।

