काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको विवादास्पद अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्। लामो समय बितिसक्दा पनि त्यसबारे कुनै प्रतिक्रिया नआएको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले आफूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गरेको करिब दुई महिना हुन लाग्दा पनि कुनै सुनुवाइ नभएको बताए। उनले व्यंग्य गर्दै भने, ‘बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भन्थे, अहिले त्यस्तै अवस्था भएको छ।’
राईले प्रधानमन्त्रीले विगतमा काठमाडौं महानगरपालिकाको मेयर रहँदा सामाजिक सञ्जालमार्फत व्यक्त गरेको ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्तिलाई पनि स्मरण गराउँदै त्यस्तो भनाइले राज्यका महत्वपूर्ण संरचना र सार्वभौम संस्थाप्रति गलत सन्देश जाने टिप्पणी गरे।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति नियतवश नभई बोल्ने क्रममा भएको त्रुटि भए पनि संसद्मा उपस्थित भएर औपचारिक रूपमा आफ्नो भनाइ फिर्ता लिनुपर्ने धारणा राखे। ‘गल्तीले बोलेको हो भने पनि प्रधानमन्त्रीज्यूले सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ उनले भने।
सांसद राईले वर्तमान सरकारले गरिब, निमुखा, श्रमिक, साना उद्यमी, पठाओ राइडर तथा सुकुम्बासी नागरिकप्रति कठोर व्यवहार गरेको आरोप लगाउँदै उनीहरूको हित संरक्षण गर्न सरकारलाई आग्रह गरे।
त्यस्तै, राज्यका विभिन्न निकायमा लामो समयदेखि करार तथा श्रेणीविहीन कर्मचारीका रूपमा कार्यरत हजारौँ कर्मचारीको समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको आदेशअनुसार महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन माग गरे।
राईले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले कम्पनी स्थापना गरेर नीतिगत भ्रष्टाचारतर्फ उन्मुख हुन खोजेको आरोपसमेत लगाएका छन्।

