• TOKHA LIVE

      TOKHA LIVE

    • २९ असार २०८३, सोमबार २०:३२

    टोखा वडा ३ मा चाकु व्यवसायी, उद्यमी तथा सरोकारवालासँग उद्योग तथा वाणिज्य प्रशासनसम्बन्धी अन्तरक्रिया

     

    काठमाडौं,असार २९ / बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंको आयोजनामा तथा टोखा नगरपालिका वडा नं. ३ र टोखा परम्परागत चाकु संरक्षण समाजको समन्वयमा चाकु व्यवसायी, उद्यमी तथा सरोकारवालासँग उद्योग तथा वाणिज्य प्रशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। टोखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको परम्परागत चाकु उद्योगलाई कानुनी रूपमा व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख उद्योग अधिकृत श्रीकृष्ण आचार्यले उद्योग दर्ता, नवीकरण, व्यवसाय सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, उपभोक्ता हित संरक्षण तथा उद्योग व्यवसाय प्रशासनका विविध विषयमा विस्तृत जानकारी गराएका थिए।उहाँले व्यवसायलाई कानुनी दायराभित्र सञ्चालन गर्दै सरकारी सेवासुविधाको अधिकतम उपयोग गर्न व्यवसायीहरूलाई आग्रह गरे।

    त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. इश्वर सुवेदीले “खाद्य स्वच्छता अभिवृद्धि प्रणाली” विषयमा सहजीकरण गर्दै खाद्य स्वच्छता, खाद्य सुरक्षा, खाद्य अनुज्ञापत्र (फुड लाइसेन्स), उत्पादन तथा प्रशोधनका क्रममा अपनाउनुपर्ने मापदण्ड, लेबलिङ तथा प्याकेजिङका कानुनी प्रावधान र उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने विषयमा जानकारी दिएका थिए।

    कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले टोखाको पहिचानसँग जोडिएको परम्परागत चाकु उद्योगलाई संरक्षण, प्रवर्द्धन र आधुनिकीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न स्थानीय सरकार, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताए।उहाँले यस्ता अन्तरक्रिया कार्यक्रमले चाकु व्यवसायीहरूलाई कानुनी प्रक्रिया, गुणस्तर, बजार व्यवस्थापन र व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

    सहभागीहरूले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या, कानुनी प्रक्रिया, खाद्य सुरक्षा मापदण्ड तथा बजार व्यवस्थापनसम्बन्धी जिज्ञासा राखेका थिए भने सम्बन्धित विज्ञहरूले त्यसका समाधानबारे आवश्यक सुझाव दिएका थिए। कार्यक्रमको अन्त्यमा टोखा परम्परागत चाकु संरक्षण समाजका पदाधिकारीहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै निकाय, प्रशिक्षक, अतिथि, पत्रकार तथा सहभागीप्रति आभार व्यक्त गर्दै टोखाको मौलिक चाकु उद्योगको संरक्षण र प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयकी लेखा प्रमुख गीता पौडेल, उद्योग शाखा अधिकृत सुबोध साह कर्मयोगी, टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठ,निर्वर्तमान अध्यक्ष कृष्णबहादुर श्रेष्ठ,कानुन व्यवसायी बाबूलाल भण्डारी, पत्रकार सानुकाजी थापा र सानुराज डंगोल लगायत चाकु संरक्षण समाजका पदाधिकारीहरू,चाकु व्यवसायी, उद्यमी तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै