• TOKHA LIVE

      TOKHA LIVE

    • २८ असार २०८३, आईतवार २१:५५

    टोखामा नेवा: पत्रकार राष्ट्रिय दबुको नगर तयारी भेला सम्पन्न

    • पत्रकारिताको संकटदेखि एकताको आवश्यकतासम्म गम्भीर बहस
    – हिक्मत डंगोल
    काठमाडौँ, २८ असारः । नेवा: पत्रकार राष्ट्रिय दबुको आयोजनामा आइतबार टोखामा नगर तयारी भेला सम्पन्न भएको छ। आगामी साउन २ गते हुने अधिवेशनलाई लक्षित गर्दै आयोजित भेलामा सदस्यता वितरण, संगठन विस्तार तथा स्थानीय पत्रकारिताका चुनौतीबारे गहन छलफल गरिएको थियो।
    भेलामा बोल्दै पत्रकार सानुराज डंगोलले टोखामा पत्रकारिता गर्नु दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। उनले स्थानीय सञ्चारमाध्यमले विज्ञापन पाउन अत्यन्त कठिन भएको र आर्थिक अभावका कारण पत्रकारिता पेशामै टिकिरहन झनै कठिन अवस्था सिर्जना भएको बताए। “विज्ञापन लिन गाह्रो छ, पत्रकारितामा टिक्न झन् साह्ो छ,” उनले भने।
    वरिष्ठ पत्रकार के. के. मानन्धरले पत्रकारिता सत्य, तथ्य र जिम्मेवारीमा आधारित हुनुपर्नेमा जोड दिए। विवाद सिर्जना गरेर चर्चामा आउने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयतामा असर पुग्ने भन्दै उनले पत्रकारले सदैव मर्यादित, निष्पक्ष र उत्तरदायी पत्रकारितालाई आत्मसात गर्नुपर्ने धारणा व्यक्त गरे।
    अर्का वरिष्ठ पत्रकार मनोज सार्थकले विगतदेखि वर्तमानसम्म पत्रकारले भोग्दै आएका समस्या स्मरण गराउँदै पत्रकारको श्रमको उचित मूल्य अझै सुनिश्चित हुन नसकेको बताए। उनले नियमित तलब नपाउने, असुरक्षित कार्य वातावरण तथा पेशागत अस्थिरताले पत्रकारहरू निराश बन्दै गएको उल्लेख गरे।
    लेखक तथा पत्रकार सुसान्तले टोखाको मौलिक पहिचानसँग जोडिएको नाम र भाषा क्रमशः हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे। नेपाल भाषामा साइनबोर्ड राख्ने अभियानसम्बन्धी समाचारले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले स्थानीय भाषा, संस्कृति र सम्पदाको संरक्षणमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
    पत्रकार हिक्मत डंगोलले टोखाका पत्रकारहरूबीच अपेक्षित एकता कायम हुन नसक्दा बाह्य तत्वले त्यसको फाइदा उठाएको अनुभव सुनाए। समाचार लेखेकै कारण धम्की आउँदा पत्रकारहरू एक्लै संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले पत्रकारहरूबीच संस्थागत ऐक्यबद्धता र पारस्परिक सहयोग अपरिहार्य भएको बताए।
    नेवा: पत्रकार राष्ट्रिय दबुका उपाध्यक्ष सुनील महर्जनले आफ्नो पत्रकारिता जीवनका प्रारम्भिक दिनहरू सम्झँदै समाचार संकलनका लागि साइकल चढेर विभिन्न स्थानमा पुग्नुपरेको अनुभव सुनाए। सीमित स्रोतसाधनका बीच पनि पत्रकारिताप्रतिको समर्पणले नै आफूहरूलाई अघि बढाएको भन्दै उनले नयाँ पुस्तालाई पेशाप्रति इमानदार रहन आग्रह गरे।
    भेलामा स्थानीय पत्रकार सुविन्द्र श्रेष्ठ, सागरराज लवत,नविना श्रेष्ठ,सुनीता महर्जन र अनिता डंगोल तथा अन्य दैनिकी ईमेज च्यानल, गोरखापत्र ,AP1 TV,नेवा सूचना केन्द्र,जनआज्ञा मिडिया,सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय पत्रकारहरूको पेशागत सुरक्षा, आर्थिक सुदृढीकरण, क्षमता अभिवृद्धि तथा संगठनात्मक एकतालाई थप मजबुत बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
    आगामी साउन २ गते हुने अधिवेशनलाई सफल बनाउन सदस्यता विस्तार, संगठन सुदृढीकरण र स्थानीय पत्रकारहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिने निर्णयसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ। टोखाको पत्रकारितालाई थप सशक्त, एकताबद्ध र व्यावसायिक बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको यो तयारी भेला आगामी अधिवेशनको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै