• TOKHA LIVE

      TOKHA LIVE

    • २८ असार २०८३, आईतवार २१:४५

    गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

    टोरन्टो । सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।

    संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार काठमाडौंस्थित राहदानी विभाग परिसरमा भएको घटनाले राज्यको जवाफदेहिता, कानुनअन्तर्गत समान व्यवहार तथा नागरिकको सम्मान र अधिकारको संरक्षणबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ।

    विज्ञप्तिमा गणेश नेपालीले सरकारी कार्यालय बाहिर आफ्नै शरीरमा आगो लगाएको घटनाको वास्तविक कारण र त्यसअघिका सम्पूर्ण परिस्थितिबारे स्वतन्त्र अनुसन्धानबाट मात्र सत्यतथ्य बाहिर आउन सक्ने बताइएको छ। संगठनले घटनाको अनुसन्धान राजनीतिक वा संस्थागत प्रभावबाट मुक्त ढंगले हुनुपर्नेमा जोड दिएको छ।

    सहयात्राले गणेश नेपालीको मृत्युलाई न्याय, समानता र राज्यको जवाफदेहिताको महत्वपूर्ण परीक्षाका रूपमा व्याख्या गर्दै अनुसन्धानका क्रममा उनले कानुनबमोजिम समान व्यवहार पाए वा पाएनन् तथा उनको जातीय पहिचानले घटनाको व्यवस्थापन वा व्यवहारमा कुनै प्रभाव पारेको थियो वा थिएन भन्ने विषयसमेत निष्पक्ष रूपमा परीक्षण हुनुपर्ने उल्लेख गरेको छ।

    विज्ञप्तिमा अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र गणेश नेपालीको घटनाको अवस्था फरक भए पनि दुवै घटनाले संस्थागत असफलताले मानव जीवनमा पार्न सक्ने गम्भीर प्रभावबारे प्रश्न उठाउने साझा सन्देश दिएको जनाइएको छ।

    संगठनले अनुसन्धानबाट सार्वजनिक निकायको व्यवहार, अत्यधिक दबाब, अपमान वा विभेदपूर्ण व्यवहारले घटनामा योगदान पुगेको पुष्टि भए त्यसका जिम्मेवार पक्षलाई कानुनबमोजिम जवाफदेही बनाउनुपर्ने माग गरेको छ। साथै, सार्वजनिक संस्थाहरूले प्रत्येक नागरिकलाई समान व्यवहार गरे वा नगरे भन्ने विषय पनि अनुसन्धानको महत्वपूर्ण आधार हुनुपर्ने उल्लेख गरिएको छ।

    सहयात्राले नेपाल सरकारसँग स्वतन्त्र अनुसन्धान समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न, अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक नीतिगत तथा संस्थागत सुधार लागू गर्न र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न आग्रह गरेको छ।

    संगठनले मृतक गणेश नेपालीका शोकसन्तप्त परिवारलाई उचित क्षतिपूर्ति, मनोसामाजिक परामर्श तथा दीर्घकालीन सहयोग उपलब्ध गराउनसमेत सरकारसँग अपिल गरेको छ। नागरिकको ज्यान गुम्ने यस्ता घटनामा राज्यले संवेदनशील, जिम्मेवार र जवाफदेही भूमिका निर्वाह गर्नुपर्ने संगठनको भनाइ छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै