काठमाडौं । जुड बेलिङहमको उत्कृष्ट प्रदर्शनमा इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको ३६औँ मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङहमले बराबरी गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए।
निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा बेलिङहमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि विजयी गोल गर्दै इङ्ल्यान्डलाई २–१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ भने पहिलो पटक क्वाटरफाइनल पुगेको नर्वेको ऐतिहासिक यात्रा अन्त्य भएको छ।

