काठमाडौं, असार २५ । सिद्धार्थ आर्ट ग्यालरीमा नेपालका दुई वरिष्ठ पौभा कलाकार शंकरकुमार जोशी र शंखनारायण श्रेष्ठ का सिर्जना समेटिएको ‘ट्रेडिसनल पौभा पेन्टिङ्स’ शीर्षकको संयुक्त कला प्रदर्शनी आयोजना हुने भएको छ।
नेपालको समृद्ध कलात्मक तथा आध्यात्मिक सम्पदालाई उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा परम्परागत पौभा चित्रकलाको सूक्ष्म शैली, धार्मिक प्रतीकात्मकता तथा भक्तिभाव झल्काउने उत्कृष्ट कृतिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीको उद्घाटन साउन १ गते (जुलाई १५, २०२६) साँझ ५ः३० बजे रानी उषा राज्यलक्ष्मी देवी राणाले गर्ने कार्यक्रम रहेको छ।
काठमाडौंको बबरमहल रिभिजिटस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन हुने प्रदर्शनी साउन १ देखि साउन ३२ गते (जुलाई १५–अगस्ट १५, २०२६) सम्म अवलोकनका लागि खुला रहनेछ।
आयोजकका अनुसार प्रदर्शनीले शताब्दीयौँदेखि जीवित रहेको नेपालको मौलिक पौभा चित्रकलाको सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक महत्वलाई कला पारखी, अनुसन्धानकर्ता तथा सर्वसाधारणमाझ प्रस्तुत गर्ने लक्ष्य राखेको छ। साथै, नेपाली मौलिक कलाको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान विस्तारमा समेत प्रदर्शनीले योगदान पुर्याउने विश्वास गरिएको छ।
सिद्धार्थ आर्ट ग्यालरीले सम्पूर्ण कला प्रेमी, कलाकार, विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई प्रदर्शनी अवलोकन गरी नेपालको समृद्ध कला परम्परासँग साक्षात्कार गर्न आग्रह गरेको छ।

