नविना श्रेष्ठ
काठमाडौं, असार २२। स्वस्थ जीवनशैलीको प्रवर्द्धन र प्रकृतिसँग प्रत्यक्ष सम्पर्कमार्फत शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले नेपालमा ‘अर्थिङ’ (खाली खुट्टा हिँड्ने) अभियानको औपचारिक सुरुवात गरिएको छ। अभियानको पहिलो चरण नागार्जुन नगरपालिकाबाट सुरु गरिएको हो।
अभियानको उद्घाटन कार्यक्रममा दक्षिण कोरियाको बेयरफुट वाक मुभमेन्ट सिटिजन्स हेडक्वार्टर का बोर्ड सदस्य तथा ग्लोबल फोरम कमिटीका अध्यक्ष काङ साङ-वूकले स्वस्थ जीवनशैलीका लागि खाली खुट्टा हिँड्ने अभ्यास प्रभावकारी हुने भन्दै नेपालमा पनि यसलाई नागरिकस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा नागार्जुन नगरपालिकाकी प्रमुख सुशीला अधिकारी, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत हरि दत्त कडेल, नगर प्रवक्ता महेश रिमाल तथा वडा नं. १ का अध्यक्ष रामेश्वर लामा, वडा नं. २ का अध्यक्ष भूमराज केसी, वडा नं. ३ का अध्यक्ष उमेश लामा, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराज शर्मा, वडा नं. ६ का अध्यक्ष देवेन्द्रराज गिरी, वडा नं. ७ का अध्यक्ष शैलेन्द्र लामा, वडा नं. ८ का अध्यक्ष सुरजकुमार पोखरेल, वडा नं. ९ का अध्यक्ष रामकृष्ण भट्टराई र वडा नं. १० का अध्यक्ष सुन्दरबहादुर केसीलगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी बेयरफुट वाक मुभमेन्ट नेपाल, काठमाडौं च्याप्टर तथा युनिभर्सल गुडनेस अर्गनाइजेसन का अध्यक्ष राकेश महर्जन, उपाध्यक्ष तथा लेखिका सबिता खनाल,कार्यकारी सदस्य तथा महासचिव सुनिता सेडाईं, , सदस्य रेखा दुलाल साहु, हेराकाजी महर्जन तथा पत्रकार एवं सदस्य नविना श्रेष्ठलगायतको पनि सहभागिता रहेको थियो।
अभियानअन्तर्गत नेपाल र दक्षिण कोरियाबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने, मानव स्रोत आदान–प्रदान तथा संयुक्त परियोजना सञ्चालन गर्ने, नागार्जुन नगरपालिकासहित काठमाडौंका विभिन्न स्थानमा रातो माटोका समर्पित ‘बेयरफुट वाक’ मार्ग निर्माण गर्ने, खाली खुट्टा हिँड्ने अभ्यासका स्वास्थ्य लाभबारे व्यापक जनचेतना अभियान सञ्चालन गर्ने तथा सदस्य विस्तार गर्दै यसलाई राष्ट्रिय नागरिक अभियानका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
यस्तै, हिमालय र अन्नपूर्ण पदमार्गमा ‘अर्थिङ’ वा ‘बेयरफुट वाक’ का विशेष खण्ड विकास गर्ने, आवश्यक सूचना तथा मार्गदर्शन प्रणाली स्थापना गर्ने र कोरियास्थित बेयरफुट वाक मुभमेन्ट सिटिजन्स हेडक्वार्टरसँग सहकार्यमा अन्तर्राष्ट्रिय परियोजनाहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
आयोजकका अनुसार प्रकृतिसँग प्रत्यक्ष सम्पर्क कायम गर्दै स्वस्थ, सक्रिय र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरु गरिएको यो अभियान आगामी दिनमा देशका अन्य स्थानीय तहमा पनि विस्तार गरिनेछ।



