टोखा, असार २०। बागमती प्रदेश सरकार र टोखा नगरपालिकाको संयुक्त पहलमा टोखा नगरपालिका ३ लाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा वडा घोषणा गरिएको छ।
शुक्रबार वडा नं. ३ को सभाहलमा आयोजित घोषणा कार्यक्रममा जनप्रतिनिधि, बागमती प्रदेश सरकारका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ३ का अध्यक्ष रमेश डंगोलले घोषणा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहभागी, सरोकारवाला तथा विद्यार्थी भाइबहिनीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे।
अध्यक्ष डंगोलले ४ देखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका कुनै कारणवश विद्यालय शिक्षाबाट वञ्चित रहेको जानकारी प्राप्त भए तत्काल वडा कार्यालयमा सम्पर्क गराइदिन सबैमा आग्रह गरे। प्रत्येक बालबालिकाले आधारभूत शिक्षा प्राप्त गर्नु मौलिक अधिकार भएकाले विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायको सक्रिय सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा वडा सदस्य शान्ता राई, टोखा साहित्य डबुका अध्यक्ष बाबुलाल डंगोल, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठ, वडा नं. ३ का सचिव तथा बागमती प्रदेश सरकारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
वडा कार्यालयका अनुसार अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, भर्ना र नियमित अध्ययन सुनिश्चित गर्न सबै सरोकारवालासँग सहकार्य गर्दै आवश्यक पहललाई निरन्तरता दिइनेछ।


