टोखा, असार १९। टोखा नगरपालिकाको प्रतिनिधित्व गर्ने ए डिभिजन क्लब श्री भगवती क्लब चीनको तिब्बत स्वायत्त क्षेत्रको झिनाङ (शान्नान) सहरमा जारी तेस्रो ‘पोमोग्रनेट सिड कप’ ग्रासल्यान्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०२६ को फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा श्री भगवती क्लबले घरेलु टोली झाङ मिजु विश्वविद्यालयलाई निर्धारित समयको खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको भगवतीले लगातार चार खेल जित्दै फाइनलसम्मको यात्रा तय गरेको छ। टोलीले पहिलो खेलमा ल्हासा टिचर्स कलेजलाई २–१ ले पराजित गरेको थियो। त्यसपछि अनहुई तिब्बत क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनल पुगेको भगवतीले टिम सिगाट्सेलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
तिब्बतको सानान मल्टिपल ब्युरो अफ कमर्शको आयोजनामा असार ५ गते (जुन २०) देखि जुलाई ५ सम्म सञ्चालन भइरहेको प्रतियोगितामा तिब्बत स्वायत्त क्षेत्रका विभिन्न सहर तथा विश्वविद्यालयका टोली, चीनका हुनान, हुबेई, आनहुई, युनान, निङ्सिया र छिङहाइलगायत प्रदेशका टोली तथा नेपालबाट सहभागी टोलीसहित १९ टोलीको सहभागिता रहेको छ।
शान्नान सहरले राष्ट्रियस्तरको खेलकुद ब्रान्डका रूपमा विकास गर्दै आएको यस प्रतियोगिताको उद्देश्य फुटबलमार्फत विभिन्न क्षेत्र, समुदाय र देशबीच खेलकुद तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिता चीनको राष्ट्रियस्तरको उत्कृष्ट जनसहभागितामूलक खेलकुद प्रतियोगिताको सूचीमा समेत समावेश छ।
प्रतियोगिताको उद्घाटन जुन २० मा शान्नान सिटी स्टेडियममा भएको थियो। उद्घाटन समारोहमा तिब्बती संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, सहभागी टोलीहरूको मार्चपास्ट तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। खेलसँगै रंगशाला परिसरमा नेपाल, पाकिस्तान, भुटानलगायत विभिन्न देशका व्यापारीहरूको सहभागितामा अन्तर्राष्ट्रिय व्यापार तथा प्रदर्शनीसमेत सञ्चालन गरिएको छ।
अब श्री भगवती क्लबले शनिबार हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका खेलहरू हेर्न रंगशालामा उल्लेख्य संख्यामा नेपाली दर्शकहरूको उपस्थिति रहेको थियो। उनीहरूले नेपालको प्रतिनिधित्व गरिरहेको श्री भगवती क्लबलाई निरन्तर उत्साहजनक समर्थन गरेका थिए।
विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलसम्म पुग्न सफल श्री भगवती क्लबको उपलब्धिले टोखा नगरपालिकासहित समग्र नेपाली फुटबल समर्थकमाझ उत्साह थपेको छ।

