भक्तपुर, असार १९। २०७२ सालको विनाशकारी भूकम्पले तहसनहस बनाएका भक्तपुरका १७८ वटा ऐतिहासिक सम्पदाहरू आज फेरि आफ्नै मौलिक स्वरूपमा उभिएका छन्। भक्तपुर नगरपालिकाले परम्परागत कला, वास्तुकला र ऐतिहासिक मौलिकतालाई अक्षुण्ण राख्दै ती सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गरेको जनाएको छ।
राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सङ्ग्रहालय सुरक्षा तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ मा नगरप्रमुख सुनिल प्रजापतिले पुनर्निर्माणको उपलब्धिबारे जानकारी दिनुभएको हो।
उहाँका अनुसार सम्पदा संरक्षणको उद्देश्य केवल पुराना भवन जोगाउनु मात्र नभई नयाँ पुस्तालाई आफ्नो इतिहास, कला र संस्कृतिसँग जोड्नु पनि हो।
“हामीले भक्तपुरलाई खुला सङ्ग्रहालयका रूपमा संरक्षण गर्ने नीति लिएका छौँ,” नगरप्रमुख प्रजापतिले भन्नुभयो, “त्यही अभियानअन्तर्गत नगरभित्र रहेका ९९ वटा ऐतिहासिक चोकलाई पुनर्जीवित गर्ने काम पनि अघि बढाइएको छ।”
उहाँले ५५ झ्याले दरबारको पुनर्निर्माणका क्रममा त्यहाँ रहेका बहुमूल्य भित्तेचित्रहरूलाई सुरक्षित रूपमा पुनःस्थापना गरिएको जानकारी दिँदै भक्तपुर स्वदेशी तथा विदेशी पर्यटकहरूको प्रमुख आकर्षण बन्दै गएको बताउनुभयो।
राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानले सङ्ग्रहालयमा चित्रकला, धातुकला, काष्ठकला, प्रस्तरकलालगायत करिब २ हजार १०० पुरातात्त्विक वस्तु सुरक्षित रूपमा सङ्ग्रहित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार ऐतिहासिक सामग्रीको सङ्कलन, संरक्षण र प्रवर्द्धनलाई सङ्ग्रहालयले निरन्तर प्राथमिकतामा राख्दै आएको छ।
पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भक्तपुरको वास्तुकला मानव सभ्यताको उत्कृष्ट सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र हस्तान्तरण भावी पुस्ताप्रतिको साझा जिम्मेवारी भएको बताउनुभयो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको मौलिक पहिचान जोगाउन सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरलाई ‘खुला आकाशमुनिको सङ्ग्रहालय’ को संज्ञा दिँदै शिलालेख तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा अझ बढी ध्यान दिनुपर्ने धारणा राख्नुभयो। अर्का इतिहासविद् विश्वमोहन श्रेष्ठले पुराना कला र सम्पदाले तत्कालीन समाजको जीवनशैली, संस्कृति र सभ्यताको ऐना प्रस्तुत गर्ने भएकाले तिनलाई जीवन्त राख्नु आवश्यक रहेको बताउनुभयो।
स्थापना दिवसको अवसरमा राष्ट्रिय कला सङ्ग्रहालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विशेष प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

