नविना श्रेष्ठ
रौतहट, असार १५।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुम्बासीका समस्याप्रति संवेदनशील बन्न नसकेको आरोप लगाएका छन्।
२३औँ राष्ट्रिय धान दिवसका अवसरमा रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले बजेटमार्फत किसानका मुख्य समस्याको समाधान गर्ने कुनै ठोस योजना नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे। सरकार किसानको सहयोगी बन्नुपर्नेमा उल्टै बाधक बनेको उनको टिप्पणी थियो।
तराईलाई देशको प्रमुख कृषि क्षेत्रको रूपमा उल्लेख गर्दै महामन्त्री पौडेलले किसानले अथक मेहनतका बाबजुद समयमा मल र गुणस्तरीय बीउबिजन नपाउँदा अपेक्षित उत्पादन गर्न नसकेको बताए।
“यहाँका किसानले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएका छन्। तर समयमा मल र बीउ नपाउँदा उनीहरूले आफ्नो माटोको क्षमता अनुसार उत्पादन गर्न सकेका छैनन्,” उनले भने।

उनले जलवायु परिवर्तनको असर पनि कृषि क्षेत्रमा गम्भीर रूपमा देखिन थालेको उल्लेख गर्दै किसानका समस्यालाई राज्यले प्राथमिकतामा नराखे समग्र कृषि क्षेत्र नै संकटमा पर्ने चेतावनी दिए।
भाषणका क्रममा पौडेलले आफ्नै पार्टीको विगतको भूमिकाबारे आत्मसमीक्षा पनि गरे। कांग्रेस नेतृत्वको सरकारका बेला किसानका पक्षमा केही काम भए पनि अपेक्षाअनुसार तीव्र रूपमा अघि बढ्न नसकेको स्वीकार गर्दै उनले किसानसँग क्षमायाचना गरे।
“हामी नेतृत्वमा हुँदा किसानका लागि काम हुँदै नभएको होइन। तर किसानका सबै समस्या समाधान हुने गरी आवश्यक गतिमा काम गर्न सकेनौँ। त्यसका लागि म आम किसान दाजुभाइ तथा दिदीबहिनीसँग क्षमा चाहन्छु,” उनले भने।

मधेशका मुद्दामा पनि आफूहरू अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको स्वीकार गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
महामन्त्री पौडेलले कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधारका लागि परम्परागत सोचभन्दा माथि उठेर ठोस नीति र कार्यक्रम आवश्यक रहेको बताए। त्यस दिशामा नेपाली कांग्रेसले आगामी दिनमा प्रभावकारी पहल गर्ने उनको भनाइ थियो।
राष्ट्रिय धान दिवसका अवसरमा आयोजित कार्यक्रममा स्थानीय किसान, नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

