टोखा, असार १४। (जबज) का प्रवर्तक मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन ले काठमाडौंस्थित राष्ट्रिय सभागृह मा विशेष कार्यक्रम आयोजना गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को प्रमुख आतिथ्यतामा दिउँसो १ः३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ।
कार्यक्रमलाई केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा उपेन्द्र यादव लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रवर्तकका रूपमा नेपाली कम्युनिष्ट आन्दोलनमा विशेष योगदान पुर्याएका नेताका रूपमा स्मरण गरिन्छ। उनले नेपालको वाम राजनीतिलाई बहुदलीय लोकतन्त्रसँग जोड्ने वैचारिक आधार प्रस्तुत गरेका थिए।
मदन भण्डारीका प्रमुख योगदान
जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन : कम्युनिष्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, नागरिक स्वतन्त्रता र जनमतको सर्वोच्चतासँग जोड्ने विचार अघि सारे।
वामपन्थी आन्दोलनलाई मूलधारमा ल्याउने भूमिका : कम्युनिष्ट शक्तिलाई लोकतान्त्रिक प्रक्रियामार्फत जनतासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले।
नेकपा (एमाले) को निर्माण र सुदृढीकरण : तत्कालीन एमालेलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे।
लोकतन्त्र र समाजवादको समन्वय : समाजवादको लक्ष्य प्राप्तिका लागि लोकतान्त्रिक प्रणालीलाई अपरिहार्य माध्यमका रूपमा व्याख्या गरे।
जनतामुखी नेतृत्व : सरल जीवनशैली, स्पष्ट विचार र जनतासँगको निकट सम्बन्धका कारण लोकप्रिय नेता बने।

