• TOKHA LIVE

      TOKHA LIVE

    • १४ असार २०८३, आईतवार १३:०२

    टोखा–३ बालमैत्री वडा घोषणा तयारी अन्तिम चरणमा, सरोकारवालाबीच बृहत् अन्तरक्रिया सम्पन्न

    • नविना श्रेष्ठ

    टोखा, असार १४। बालबालिकाको सुरक्षित, सम्मानजनक र उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ टोखा नगरपालिका–३ मा बालमैत्री वडा घोषणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले बालमैत्री वडा घोषणा प्रक्रियालाई अन्तिम रूप दिन महत्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ।

     

    बालमैत्री वडा समितिका संयोजक तथा वडा सदस्य शान्ता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाकी देवका आचार्यले सहजीकरण गरेकी थिइन्। कार्यक्रममा सहभागीहरूले बालबालिकामैत्री समाज निर्माणका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा सबै सरोकारवालाबीच साझा जिम्मेवारी, सहकार्य र निरन्तर प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।

     

    वडा सदस्य शान्ता राईले वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै अभियानलाई सफल बनाउन सबैको अपनत्व र सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्। उनले बालमैत्री अभियान कुनै एक निकायको जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा अभियान भएकाले सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन्।

     

    उनले बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण र गुणस्तरीय विकास सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै बालमैत्री वडा घोषणा केवल औपचारिकतामा सीमित नभई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्। वडा कार्यालयले पनि समुदायको सामूहिक सहभागिता, आपसी सहकार्य र दृढ प्रतिबद्धताबाट मात्रै बालमैत्री वातावरण निर्माण सम्भव हुने विश्वास व्यक्त गरेको छ।

     

    टोखा नगरपालिका–३ को सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, वडा सदस्य देवीमाया नेपाली, सरस्वती गाविसका पूर्व अध्यक्ष बाबुलाल डंगोल, प्रो. रामजी भण्डारी लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडास्तरीय बालमैत्री समितिका पदाधिकारी, सामाजिक संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, बाल क्लब, बाल सञ्जाल, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

     

    आयोजकका अनुसार अन्तरक्रिया कार्यक्रमले बालमैत्री वडा घोषणा प्रक्रियालाई अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै अन्तिम तयारीलाई थप मजबुत बनाएको छ। बालबालिकाको अधिकार संरक्षण र समग्र विकासलाई केन्द्रमा राखेर अघि बढाइएको यो अभियानले टोखा–३ लाई बालमैत्री, सुरक्षित र उत्तरदायी वडा बनाउने विश्वास व्यक्त गरिएको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै