टोखा काठमाडौं असार ११,२०८३। महिलाको आत्मनिर्भरता, सीप विकास तथा आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले टोखा नगरपालिका वडा नं. ३ ले सञ्चालन गरेका ४५ दिने सिलाइ कटाइ तथा ६ दिने कृष्टलको माला बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएका छन्। तालिम पूरा गरेका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र प्रदान गरिएको हो। ३ वडा कार्यालयको आयोजनामा सञ्चालन भएका दुवै तालिममा सहभागी महिलाहरूले नियमित र सक्रिय सहभागिता जनाउँदै व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका थिए। सिलाइ कटाइ तालिमले उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने आधार तयार गरेको छ भने कृष्टलको माला बनाउने तालिमले सिर्जनात्मक क्षमता विकाससँगै आयआर्जनका नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।
कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठले यस्ता सीपमूलक कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उहाँले सीपसँगै आत्मविश्वासको विकास हुने र साना अवसरले पनि जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने बताए। सिलाइ कटाइ तालिमकी प्रशिक्षक सुजिता गुरुङले सहभागीहरूको लगनशीलता, मेहनत र सिक्ने उत्साहका कारण तालिम उपलब्धिमूलक बनेको बताइन्।
वडा सदस्य शान्ता राईले महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन सीपमूलक तालिम प्रभावकारी माध्यम बनेको बताइन्। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर स्वरोजगार तथा साना घरेलु उद्यममार्फत आम्दानी बढाउन सकिने उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलामा आत्मविश्वास, क्षमता र आत्मनिर्भरताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरिन्। आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धि र आयआर्जनसँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताइन्।
त्यस्तै, कृष्टलको माला बनाउने तालिमकी प्रशिक्षक कमला सुवेदीले सीप केवल सिकाइमा सीमित नरही व्यवहारमा उतार्न सके आयआर्जन र आत्मनिर्भरताको बलियो आधार बन्न सक्ने धारणा व्यक्त गरिन्। “सानो सीपले पनि ठूलो सम्भावनाको ढोका खोल्न सक्छ,” प्रशिक्षक सुवेदीले भनिन्, “महिलाहरूले सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै आफ्नो आर्थिक अवस्था सुदृढ बनाउन र आत्मनिर्भर बन्न सकून् भन्ने मेरो अपेक्षा छ।” प्रमाणपत्र प्राप्त गरेका सहभागीहरूले तालिमबाट प्राप्त सीपलाई दैनिक जीवनमा प्रयोग गर्दै परिवारको आर्थिक अवस्थामा टेवा पुर्याउने तथा समाजमा सकारात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले यस्ता तालिमले आफ्नो जीवनमा नयाँ आशा, आत्मविश्वास र सम्भावना थपेको अनुभव समेत साझा गरेका थिए।
वडा सचिव आशिष ढुङ्गेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य शान्ता राई र देविमाया नेपाली लगायत प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ३ वडा कार्यालयले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार यस्ता सीपमूलक तथा आयआर्जनसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय तहको यस्तो पहलले महिलाको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

