काठमाडौं । नागार्जुन नगरपालिकाको सहयोग तथा सहकार्यमा श्री पचली भैरव नेवार समाजले सञ्चालन गरेको धिमे बाजा तालिम तथा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नागार्जुन नगरपालिका–१ मा आयोजित कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको औपचारिक समापन गरिएको हो।
समापन कार्यक्रममा बोल्दै वडा नं. १ का अध्यक्ष रामेश्वर लामाले भाषा, बाजा र संस्कृतिको संरक्षण समुदायको मौलिक पहिचान जोगाउने प्रमुख आधार भएको बताए। उनले नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र भाषासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
धिमे बाजा र नेवारी भाषा नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक सम्पदासँग जोडिएको भन्दै अध्यक्ष लामाले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको साझा दायित्व रहने धारणा व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले नेपालका विविध भाषा, कला र संस्कृतिहरू राष्ट्रिय सम्पत्ति भएकाले तिनको संरक्षण र पुस्तान्तरण अपरिहार्य रहेको बताइन्। उनले धिमे बाजा, नेवारी भाषा तथा परम्परागत संस्कृतिले समुदायबीच एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्थानीय तहबाट यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन गरिने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा तालिम तथा प्रशिक्षण सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई वडा अध्यक्ष रामेश्वर लामा र कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका थिए।
स्थानीय जनप्रतिनिधि, समाजसेवी, संस्कृतिकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रम सफल र उपलब्धिमूलक भएको आयोजकले जनाएको छ।

