• TOKHA LIVE

      TOKHA LIVE

    • ७ असार २०८३, आईतवार ०९:२०

    समुन्नत टोखाको लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक:स्वच्छ,हरित र नागरिकमैत्री नगर निर्माणको नयाँ खाका

    काठमाडौं २०८३ असार ७ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि “समुन्नत, स्वच्छ, हरित र नागरिकमैत्री नगर” निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। १९औँ नगरसभाको अधिवेशनमा नगरप्रमुख प्रकाश अधिकारीले प्रस्तुत गरेको यस कार्यक्रमले टोखाको भविष्यलाई नयाँ दिशातर्फ अघि बढाउने स्पष्ट खाका देखाएको छ।

    नगरपालिकाले यस वर्ष सडक मानवमुक्त नगर घोषणा गर्ने, टोखालाई ‘योगनगर’का रूपमा विकास गर्ने, डिजिटल सेवा विस्तार गर्ने तथा स्मार्ट पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ। साथै उद्यमशीलता, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा सुधार र सुशासनलाई पनि विशेष जोड दिइएको छ।

    नगरप्रमुख अधिकारीले गत वर्षका उपलब्धिहरू प्रस्तुत गर्दै सडक बत्ती विस्तार, पार्क निर्माण, करिडोर विकास, खुला व्यायामशाला स्थापना तथा डिजिटल सेवामा भएको प्रगतिको चर्चा गरे। उनले अबको लक्ष्य टोखालाई अझ व्यवस्थित, सफा र नागरिकको जीवनसँग नजिकको नगर बनाउने रहेको बताए।

    आर्थिक विकासतर्फ युवालाई स्वरोजगार, सीपमूलक तालिम, साना तथा लघु उद्योग प्रवर्द्धन र वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने कार्यक्रम अघि सारिएको छ। कृषिलाई आधुनिकीकरण गर्दै यान्त्रीकरण, नगदेबाली र किसान सूचीकरणमा जोड दिइनेछ।

    शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय सुधार, दिवा खाजा कार्यक्रम निरन्तरता, खेलकुद विकास र निजी विद्यालयमा छात्रवृत्ति कार्यान्वयनलाई कडाइका साथ अघि बढाइने भएको छ।

    स्वास्थ्य क्षेत्रमा निःशुल्क सेवाको विस्तार, महिलाको स्वास्थ्य परीक्षण, दीर्घरोगीलाई विशेष प्राथमिकता तथा ‘मेयर दीर्घायु कार्यक्रम’लाई निरन्तरता दिने योजना छ।

    नगरपालिकाले लागूऔषध नियन्त्रण, बालबालिका तथा एकल महिलाको संरक्षणका लागि विशेष कोष स्थापना गर्ने घोषणा पनि गरेको छ। साथै सडक मानवमुक्त नगर र बालमैत्री नगर घोषणा गर्ने लक्ष्यलाई पनि अघि बढाइने भएको छ।

    योग, ध्यान र प्राणायामलाई समुदायस्तरसम्म विस्तार गर्दै टोखालाई ‘योगनगर’ बनाउने योजना विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

    पूर्वाधारतर्फ स्मार्ट बत्ती, व्यवस्थित पार्किङ, सरसफाइ, खानेपानी सुधार, सार्वजनिक शौचालय निर्माण तथा मुख्य सडक २४सै घण्टा सञ्चालनयोग्य बनाउने कार्यक्रम समावेश गरिएको छ।

    नगरप्रमुख अधिकारीले योजना समयमै सम्पन्न गर्ने, खर्च प्रभावकारी बनाउने र संघ तथा प्रदेश सरकारसँग सहकार्य मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

    यस नीति तथा कार्यक्रमले टोखालाई केवल भौतिक रूपमा होइन, सामाजिक, सांस्कृतिक र डिजिटल रूपमा समेत समुन्नत नगर बनाउने स्पष्ट संकेत दिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै