• TOKHA LIVE

      TOKHA LIVE

    • ७ असार २०८३, आईतवार ०८:३१

    प्याब्सन काठमाडौं शोकमा डुब्यो:आज काठमाडौंका सबै संस्थागत विद्यालय बन्द

    काठमाडौं  २०८३ असार ७। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (पाब्सन) काठमाडौं जिल्ला कार्यसमितिका कोषाध्यक्ष

    डि.एन. अधिकारीको असामयिक निधनले शैक्षिक क्षेत्र शोकमग्न बनेको छ। उहाँको निधनले पाब्सन परिवार मात्र होइन, निजी विद्यालय क्षेत्रमा समर्पित एक सक्रिय व्यक्तित्व गुमाएको अनुभूति गराएको छ।

    पाब्सन काठमाडौंले जारी गरेको शोक विज्ञप्तिअनुसार शुक्रबार उहाँको निधन भएको र शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न गरिएको छ। दिवंगत अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै पाब्सन काठमाडौंले आइतबार जिल्लाभित्रका सबै सदस्य विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

    त्यसैगरी, सोमबार विद्यालयको बिहानको प्रार्थना सभामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण

     गर्न पनि सबै विद्यालयलाई अनुरोध गरिएको छ।शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीको असामयिक बिदाइले विद्यालय सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई मर्माहत बनाएको छ। उहाँले निजी विद्यालयको विकास, संगठन सुदृढीकरण र शैक्षिक अभियानमा पुर्‍याएको योगदानलाई पाब्सन परिवारले सदैव स्मरण गर्ने जनाएको छ।

    पाब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टद्वारा जारी शोक सन्देशमा दिवंगत अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

    डि.एन. अधिकारीको निधनसँगै काठमाडौंको निजी शैक्षिक क्षेत्रले एक समर्पित सहयात्री गुमाएको छ। उहाँको योगदान, कर्मशीलता र संगठनप्रतिको निष्ठा शिक्षाक्षेत्रमा सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै