• TOKHA LIVE

      TOKHA LIVE

    • ७ असार २०८३, आईतवार ०६:०६

    सपनतिर्थ अपर मेगासिटी दुथांद्वमा पाईप कल्भर्ट निर्माणको शिलान्यास सम्पन्न

     

    काठमाडौं, टोखा २०८३ असार ७ । सपनतिर्थ अपर मेगासिटी दुथांद्व क्षेत्रमा पाईप कल्भर्ट निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोल तथा वडा सदस्य हरिभक्त श्रेष्ठले पण्डित केदार न्यौपानेद्वारा वैदिक पूजापाठ सम्पन्न गरी निर्माण कार्यको शनिबार शिलान्यास गर्नुभएको हो। उक्त पाईप कल्भर्ट निर्माणका लागि वडा स्तरीय बजेटबाट रु. २५ लाख विनियोजन गरिएको छ भने थप आवश्यक कार्य उपभोक्ता समितिको श्रमदानबाट सम्पन्न गरिने जनाइएको छ।

     

    स्थानीयवासीका अनुसार यो पाईप कल्भर्ट टोखा वडा नं. २ र वडा नं. ३ लाई जोड्ने महत्वपूर्ण संरचनाका रूपमा रहनेछ। लामो समयदेखि पुलको अभावमा स्थानीय बासिन्दाले घुमाउरो बाटो प्रयोग गर्दै टोखा आउजाउ गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यस समस्याको समाधान हुने अपेक्षा गरिएको छ। निर्माण सम्पन्न भएपछि आवतजावत सहज हुनुका साथै समय र श्रमको समेत बचत हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्। शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष रमेश डंगोलले रु. २५ लाखको लागतमा निर्माण हुन लागेको यस पाईप कल्भर्टबाट स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो। उहाँले पूर्वाधार विकासमार्फत नागरिकको दैनिक जीवनलाई सहज बनाउने कार्यलाई वडा कार्यालयले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।

     

    सपनतिर्थ अपर मेगासिटी दुथांद्व उपभोक्ता समितिका अध्यक्ष सन्तु कुमार गिरीले वडा नं. ३ परिवारप्रति धन्यवाद व्यक्त गर्दै लामो समयदेखि स्थानीयको प्रमुख समस्याका रूपमा रहेको आवतजावतको कठिनाइ समाधानतर्फ यो योजना महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले निर्माण सम्पन्न भएपछि स्थानीय उपभोक्ताले प्रत्यक्ष राहत पाउने विश्वास व्यक्त गर्नुभयो। शिलान्यास कार्यक्रममा टोखा वडा नं. ३ का सदस्य हरिकृष्ण श्रेष्ठ, टोखाका पूर्व प्रधानपञ्च कसि नारायण श्रेष्ठ, सपनतिर्थ अपर मेगासिटी दुथांद्व उपभोक्ता समिति, टोखा ३ का पदाधिकारी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै