काठमाडौं । काठमाडौं महानगरपालिकाले चलचित्रलाई समुदायसँग जोड्ने उद्देश्यले ‘टोल–टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ। खुला मञ्चबाट कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको उद्घाटन गर्दै चलचित्रलाई सिनेमा हलको सीमाभन्दा बाहिर समुदायसम्म पुर्याउनुपर्ने बताउनुभयो।
उद्घाटन समारोहमा ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ र ‘बेस्ट साउण्ड क्रियसन’ अवार्ड जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ लाई काठमाडौं महानगरपालिकाले नगद १० लाख रुपैयाँसहित सम्मान गरेको छ। निर्देशक अविनाश विक्रम शाहको नेतृत्वमा बनेको चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्र उद्योगको प्रतिष्ठा बढाएको भन्दै सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा अमन शाही, ताराङ् र इशान भुषाल निर्देशित लघु चलचित्रहरू प्रदर्शन गरिनुका साथै कुटुम्ब ब्याण्डले सांस्कृतिक प्रस्तुति दिएको थियो। महोत्सवमा प्रदर्शन गरिएका चलचित्रहरू काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को तथा नेपाल फिल्म एकेडेमीसँगको सहकार्यमा उपलब्ध गराइएका हुन्।
महानगरपालिकाका अनुसार असार महिनाभरि हरेक शुक्रबार र शनिबार असन, लगनटोल, सुन्धारा, मैतीदेवी, बालाजु बाइपास, बागबजारलगायत विभिन्न सार्वजनिक स्थलमा लघु चलचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम, रचनात्मक उद्योगसम्बन्धी संवाद तथा स्थानीय परिकार प्रदर्शनी आयोजना गरिनेछ।
महानगरपालिकाले यो महोत्सवमार्फत नेपाली चलचित्र उद्योग, स्थानीय संस्कृति र रचनात्मक उद्योगबीच सहकार्य र विकासको नयाँ आधार निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।

