काठमाडौं, असार ४ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेटमार्फत गृह प्रशासनलाई परम्परागत सुरक्षा प्रणालीबाट प्रविधिमैत्री, परिणाममुखी र नागरिकमैत्री प्रणालीमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले राष्ट्रिय सुरक्षा, सुशासन, साइबर अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो।
मन्त्री गुरुङले ‘वान आईडी, मल्टिपल गभर्मेन्ट सर्भिस’ अवधारणाअन्तर्गत राष्ट्रिय परिचयपत्रलाई सबै सार्वजनिक सेवासँग आबद्ध गरिने बताउनुभयो। यसबाट नागरिकले एउटै परिचयपत्रमार्फत विभिन्न सरकारी सेवा प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो।
साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्न ५० करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) र एडभान्स एनालिटिक्स प्रविधिको प्रयोगबाट अनुसन्धानलाई थप वैज्ञानिक बनाइने बताउनुभयो। साइबर ब्युरोलाई आवश्यक उपकरण र स्रोतसाधन उपलब्ध गराइने पनि उहाँले जानकारी दिनुभयो।
महिला तथा लैङ्गिक हिंसाबाट पीडितलाई न्याय सुनिश्चित गर्न विशेष संयन्त्र सक्रिय बनाइएको र ‘हेलो गृह कल सेन्टर’ मार्फत नागरिकका गुनासो २४ सै घण्टा सुनुवाइ गर्ने व्यवस्था गरिएको मन्त्री गुरुङले बताउनुभयो। नेपाल प्रहरीले ‘केस ट्र्याकिङ सिस्टम’ सञ्चालनमा ल्याइसकेको र सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
सुरक्षा निकायलाई थप सबल र सक्षम बनाउन आधुनिक प्रविधिमा आधारित उपकरण खरिद गरिने बताउँदै उहाँले ‘मोडर्न पुलिसिङ’, पेट्रोलिङ ड्रोन, हेभी लिफ्टिङ ड्रोन तथा सर्च एन्ड रेस्क्यु ड्रोन खरिदका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। आगामी वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८९ वटा भवन निर्माण गरिने पनि उहाँले बताउनुभयो।
विपद् व्यवस्थापनमा सरकार ‘रेस्पोन्सिभ मेजर्स’ बाट ‘प्रिपेयर्डनेस स्ट्राटेजी’ तर्फ केन्द्रित भएको उल्लेख गर्दै मन्त्री गुरुङले मनसुन पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै सरोकारवालासँग समन्वय गरिएको बताउनुभयो। उद्धार सामग्री आवश्यक स्थानमा पठाउने व्यवस्था मिलाइएको तथा रेस्क्यु ड्रोन, आधुनिक उपकरण र एकीकृत विपद् प्रतिकार्य कमान्ड तथा कन्ट्रोल प्रणाली विकास गरिने उहाँले जानकारी दिनुभयो।
लागुऔषध नियन्त्रणका लागि ‘थ्री पिलर स्ट्राटेजी’ अन्तर्गत रोकथाम, उपचार र कारबाहीलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। यसका लागि चालु वर्षको ७९ लाख रुपैयाँको बजेट बढाएर आगामी वर्ष २ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रहरी चेकजाँचका क्रममा हुने भ्रष्टाचार नियन्त्रणमा सरकार शून्य सहनशीलताको नीतिमा रहेको उल्लेख गर्दै मन्त्री गुरुङले कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था कडाइका साथ लागू गरिने बताउनुभयो। सीमा क्षेत्रमा एआई प्रविधियुक्त सीसीटीभी क्यामेरा जडान गरी निगरानी प्रणाली सुदृढ बनाइने पनि उहाँले जानकारी दिनुभयो।
कारागार व्यवस्थापनतर्फ हाल १९ हजार क्षमताका कारागारमा करिब २६ हजार ८ सय कैदीबन्दी रहेको उल्लेख गर्दै उहाँले प्रत्येक प्रदेशमा सात हजार क्षमताको एक–एकवटा ठूला कारागार निर्माण गर्ने योजना रहेको बताउनुभयो। हाल ११ वटा कारागार भवन निर्माणाधीन रहेका र थप २० वटा कारागार भवनका लागि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो।
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सबै जिल्लामा निर्देशन दिइएको तथा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको मन्त्री गुरुङले बताउनुभयो।
उहाँले आगामी वर्षको बजेट केवल खर्चको सूची नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय संकल्प भएको उल्लेख गर्दै बजेटको प्रत्येक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

