काठमाडौं, असार ४ / विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मा ‘विपद्को चेतना, कलाको अभिव्यक्ति’ शीर्षकको कार्टुन कला प्रदर्शनी सुरु भएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कार्टुनिस्ट क्लब अफ नेपाल को संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीको उद्घाटन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै कोइरालाले कुनै पनि कार्य अघि बढाउँदा विपद्को जोखिमबारे बुझ्न आवश्यक रहेको उल्लेख गर्दै कार्टुनजस्ता कलामाध्यमबाट प्रस्तुत गरिने सन्देश जनमानसमा प्रभावकारी ढङ्गले पुग्ने बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै कला र सिर्जनात्मक माध्यममार्फत विद्यार्थीलाई विपद्सम्बन्धी जानकारी तथा पूर्वतयारीका विषय सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, कलाकारहरूसँग सहकार्य गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वासुदेव श्रेष्ठ (बासु क्षितिज) ले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वजानकारी र पूर्वतयारी अत्यन्त महत्वपूर्ण रहेको बताउँदै कला त्यसका लागि प्रभावकारी माध्यम भएको धारणा राख्नुभयो। उहाँले यस्ता प्रदर्शनीलाई आगामी दिनमा प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रतिष्ठानकी निवर्तमान प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारी ले गत वर्षदेखि सुरु गरिएको यो अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।
प्रदर्शनीमा बासु क्षितिज, अविन श्रेष्ठ, देवेन्द्रकुमार काफ्ले, रविन्द्र मानन्धर, रवि मिश्र, भानु भट्टराई, अर्पिता शाक्य, विश्व थापा, सुदर्शन सिग्देल, पल्पसा मानन्धर, सानुराज डङ्गोल, राजेश मानन्धर, दीपक गौतम, महेश बस्ताकोटी, केशवराज खनाल, कृष्णगोपाल श्रेष्ठ र योगेश खपाङ्गीलगायत १७ कलाकारका २० नयाँ तथा अघिल्लो वर्षका २६ गरी कुल ४६ वटा कार्टुन कलाकृति प्रदर्शनमा राखिएका छन्।
विपद् व्यवस्थापनका विविध पक्षलाई सरल, रोचक र प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको उक्त प्रदर्शनी असार १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्राधिकरणका पदाधिकारी, कलाकार, पत्रकार तथा कलाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




