काठमाडौं, २९ जेठ/ सह-आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका माथि २–० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो अज्टेकामा सम्पन्न खेलमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोड्यो।
मेक्सिकोका लागि जुलियन क्विनोनेसले खेलको नवौँ मिनेटमा गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बन्न सफल भए। त्यसपछि अनुभवी स्ट्राइकर राउल जिमेनेजले ६७औँ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
खेलमा अनुशासनहीनता पनि देखियो। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले ४९औँ मिनेटमा रातो कार्ड पाएर मैदान बाहिरिए भने ८४औँ मिनेटमा थेम्बा ज्वाने पनि रातो कार्ड पाएपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित भएको थियो। अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए। यससँगै उद्घाटन खेलमै कुल तीन खेलाडीले रातो कार्ड पाएर मैदान छाडेका थिए।
यो जितसँगै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ। समूहको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुनेछ।

