टोखा काठमाडौँ, ९ जेठः टोखा नगरपालिकाले डिजिटल घर नम्बर प्रणालीलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको छ। वडा नम्बर १, २ र ३ मा घर नम्बर जडान कार्य अघि बढिरहेको अवस्थामा अब सम्बन्धित घरधनीलाई आफ्नो विवरण प्रमाणीकरण (Data Verification) गर्न आग्रह गरिएको छ।
नगरपालिकाले यसअघि घर विवरण सङ्कलन कार्य सम्पन्न गरिसकेको र हाल डिजिटल घर नम्बर वितरणको अन्तिम चरणमा पुगेको जनाएको छ। सोही क्रममा छुट भएका वा विवरण अद्यावधिक गर्नुपर्ने घरधनीलाई आवश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको हो।
सूचनाअनुसार वडा नम्बर १, २ र ३ का सम्पूर्ण घरधनीले आफूलाई उपलब्ध गराइएको घर नम्बर वा टाँस गरिएको स्टिकरसहित कार्यालय समयमा वडा कार्यालयमा उपस्थित भई विवरण प्रमाणीकरण गर्नुपर्नेछ।
टोखा नगरपालिकाले डिजिटल प्रणालीमार्फत घर नम्बर व्यवस्थापन गर्दा सेवा प्रवाहलाई थप सहज, व्यवस्थित र आधुनिक बनाउने विश्वास लिएको छ। स्थानीयवासीले पनि यसलाई नगरको दीर्घकालीन व्यवस्थापन र पहिचानसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा हेरेका छन्।
३ वडा कार्यालयले समयमै विवरण प्रमाणीकरण गरी सहयोग गर्न सबै घरधनीसँग अनुरोध गरेको छ।

