• TOKHA LIVE

    • ७ जेष्ठ २०८३, बिहीबार १६:५९

    जनतासँग बढी कर नलिन सांसदहरूको माग

    काठमाडौँ, ७ जेठः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतामाथि थप करको भार नपार्न सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसद सुलभ खरेलले कर प्रणालीलाई जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

    बैठकमा विभिन्न सांसदहरूले सडक, पुल, विमानस्थल, विद्युत्, फोहर व्यवस्थापन, खेलकुद तथा वैदेशिक रोजगारीसँग सम्बन्धित समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सांसद सुशील खड्काले फोहर व्यवस्थापनलाई प्रोत्साहन गर्न कबाडी कर खारेज गर्नुपर्ने माग गर्दै कुहिने फोहरबाट मल तथा प्लास्टिकलाई उद्योगमा पुनःप्रयोग गर्न सकिने बताउनुभयो ।

    सांसद सुषमा स्वर्णकारले विद्युत् सेवा नागरिकको अधिकार भएकाले आपूर्तिमा अवरोध नगर्न माग गर्नुभयो भने सांसद सुहाङ नेम्वाङले वर्षायामअघि इलामका भत्किएका सडक र अलपत्र पुल निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

    त्यस्तै सांसद स्मृति चौधरीले युवाको विदेश पलायन रोक्न प्रभावकारी नीति आवश्यक रहेको बताउनुभयो । सांसद हरिप्रसाद भुसालले स्वतन्त्र प्रेस सुदृढीकरणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

    बैठकमा सांसदहरूले देशभरका पूर्वाधार, शिक्षा, खेलकुद, कृषि तथा नागरिक सेवासँग जोडिएका समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै