• TOKHA LIVE

    • ७ जेष्ठ २०८३, बिहीबार १६:४८

    सुकुमवासीको समस्या तत्काल समाधान गर्न सांसदहरूको आग्रह

    काठमाडौँ, ७ जेठः सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा सांसदहरूले सुकुमवासी समुदायको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

    बैठकमा सांसदहरूले योजनाविहीन व्यवस्थापन र तयारीविनाको डोजर अभियानले वास्तविक सुकुमवासी थप समस्यामा परेको बताएका छन् । उनीहरूले आवास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

    सांसद श्रीकृष्णप्रसाद अधिकारीले लालपुर्जाको अभाव र रोजगारी तथा स्वास्थ्य सेवामा पहुँच नहुँदा सुकुमवासी मानसिक तनावमा रहेको बताउनुभयो । सांसद उदयबहादुर बोहोराले तयारीविना बस्ती हटाउँदा समस्या झन् जटिल बनेको उल्लेख गर्नुभयो ।

    त्यस्तै सांसद विष्णुकुमारी सापकोटाले उचित व्यवस्थापनविना बस्ती खाली गराउँदा नागरिक थप पीडित भएको बताउँदै सरकारसँग गम्भीर छलफल गर्न माग गर्नुभयो । सांसद रोश्नी मेचेले स्पष्ट कार्ययोजना र मानव अधिकार संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    बैठकमा सहभागी सांसदहरूले सुकुमवासी समस्या केवल आवासको विषय नभई मानव अधिकारसँग जोडिएको संवेदनशील मुद्दा भएकाले राज्यले दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै