• TOKHA LIVE

    • ६ जेष्ठ २०८३, बुधबार १७:२९

    कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

    काठमाडौँ, ६ जेठःनेपालमा पछिल्लो एक दशकमा कृषि क्षेत्रमा सरकारी लगानी बढ्दै गए पनि उत्पादन र खेतीयोग्य जमिन घट्दै गएको तथ्याङ्कले देखाएको छ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले सार्वजनिक गरेको ‘नेपालको कृषिसम्बन्धी तथ्याङ्क जानकारी’ अनुसार आर्थिक वर्ष २०७०/७१ मा कृषि क्षेत्रमा २१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने २०८१/८२ मा यो बढेर ५९ अर्ब रुपैयाँ पुगेको छ। अर्थात् कृषि बजेट वार्षिक औसत १० दशमलव ७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

    तर उत्पादन वृद्धिदर भने अपेक्षाअनुसार बढ्न सकेको छैन। मुख्य खाद्यान्नबालीमध्ये धानको उत्पादन प्रतिवर्ष औसत १ दशमलव ०३४ प्रतिशत, मकै ३ दशमलव ९८ प्रतिशत र गहुँ ० दशमलव ८ प्रतिशतले मात्रै बढेको छ।धान, मकैगहुँ को उत्पादन केही बढे पनि परम्परागत बाली कोदोफापर को उत्पादनमा तीव्र गिरावट आएको छ।

    तथ्याङ्कअनुसार २०७०/७१ मा तीन लाख चार हजार मेट्रिकटन रहेको कोदो उत्पादन २०८०/८१ मा घटेर २४ हजार ९३१ मेट्रिकटनमा सीमित भएको छ। त्यस्तै, एक लाख ३३५ मेट्रिकटन रहेको फापर उत्पादन घटेर १४ हजार ५१६ मेट्रिकटनमा झरेको छ।खाद्यान्न उत्पादन पर्याप्त नहुँदा नेपालले ठूलो परिमाणमा आयात गर्नुपरेको छ। २०८१/८२ मा धान तथा चामल खरिदमा मात्रै ४० अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ भने मकै, कोदो र फापर आयातमा समेत अर्बौँ रुपैयाँ खर्च भएको छ। कुल मिलाएर खाद्यान्न आयातमा ५९ अर्ब ९२ करोड ६० लाख रुपैयाँ विदेशिएको तथ्याङ्क छ।

    राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार खेतीयोग्य जमिनसमेत घट्दो क्रममा छ। २०६८ सालमा २५ लाख २५ हजार ६३९ हेक्टर रहेको खेतीयोग्य जमिन २०७८ सालमा घटेर २२ लाख १८ हजार ४१० हेक्टरमा झरेको छ।वरिष्ठ कृषि अर्थविद् तिलकराज चौलागाई का अनुसार करिब तीन करोड जनसङ्ख्यालाई धान्न नेपाललाई वार्षिक ७० लाख मेट्रिकटन धान आवश्यक पर्नेछ। त्यसका लागि हालको उत्पादनभन्दा थप १३ लाख मेट्रिकटन धान उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै