काठमाडौँ, ६ जेठ :नेपालले प्रकृति तथा पर्यावरण संरक्षणमा करिब ५० वर्षदेखि पुर्याएको योगदानको कदरस्वरूप नेपालीसेना लाई विशेष सम्मान प्रदान गरेको छ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा वन्यजन्तु तथा पर्यावरण संरक्षण क्षेत्रमा सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान गरिएको सेनाले जनाएको छ।
यसअघि पनि सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा सफल बनाउन योगदान पुर्याएका सेनाका विभिन्न छ युनिटलाई ‘अब्राहम कन्जर्भेसन अवार्ड’ प्रदान गरिएको थियो। साथै बर्दिया राष्ट्रिय निकुञ्ज लाई ‘डबल टाइगर अवार्ड’ समेत प्राप्त भइसकेको छ।
नेपाली सेना विसं २०३२ देखि औपचारिक रूपमा राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिँदै आएको छ। हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणका लागि आठ गण, सात अनाश्रित गुल्म तथा एक प्रकृति संरक्षण शिक्षालय परिचालित छन्।
सेनाका अनुसार संरक्षण प्रयासकै परिणामस्वरूप सन् २००९ मा १२१ रहेको पाटे बाघको संख्या हाल ३५५ पुगेको छ भने सन् २००५ मा ४०० रहेको एकसिङ्गे गैँडाको संख्या बढेर ७५२ पुगेको छ।
प्रकृति संरक्षणको जिम्मेवारी निर्वाह गर्ने क्रममा जटिल भूगोल, प्रतिकूल मौसम तथा कठिन परिस्थितिबीच कार्यरत रहँदा हालसम्म नेपाली सेनाका ११६ जनाले ज्यान गुमाइसकेको जानकारी पनि सेनाले दिएको छ।

