काठमाडौँ, ४ जेठः राष्ट्रिय महिला आयोग अब नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सञ्चालन हुने भएको छ। आयोगले प्रशासनिक काम नयाँ भवनबाट सुरु गरिसकेको छ भने एक साताभित्र सम्पूर्ण सेवा त्यहीँबाट सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार हाल भद्रकालीस्थित कार्यालयबाट सञ्चालन भइरहेको ११४५ हेल्पलाइन र उजुरीसम्बन्धी सेवा पनि छिट्टै नारायणहिटीमा सारिनेछ।
स्थापनाकालदेखि आयोग भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय आयोगले मासिक करिब चार लाख रुपैयाँ भाडा तिर्दै आएको जनाएको छ। नयाँ सरकारी भवनमा सरेपछि भाडा खर्च बच्ने र संवैधानिक आयोगको गरिमा पनि बढ्ने विश्वास आयोगले लिएको छ।
सरकारले प्रयोगविहीन सरकारी भवन उपयोग गर्ने तथा संवैधानिक निकायलाई मितव्ययी बनाउने उद्देश्यले कार्यालय सार्ने प्रक्रिया अघि बढाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणपछि आवश्यक व्यवस्थापन गरी आयोगलाई भवन उपलब्ध गराइएको बताइएको छ।
महिला तथा बालबालिकामाथि हुने हिंसा र विभेदसम्बन्धी उजुरी हेर्दै आएको आयोगमा दैनिक २०–२५ जना प्रत्यक्ष सेवाग्राही आउने गरेका छन् भने ११४५ हेल्पलाइनमार्फत देश तथा विदेशबाट दैनिक ५० भन्दा बढीले सेवा लिने गरेका छन्।

