काठमाडौँ, ४ जेठ । काठमाडौँको बालुवाटारमा यही जेठ ८ गतेदेखि नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी आयोजना हुने भएको छ ।
नेपाल हस्तकला महासङ्घले विभिन्न प्रदेश तथा जिल्लास्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी तथा प्रचारप्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्याउने उद्देश्यले जेठ ८ देखि १० गतेसम्म उक्त प्रदर्शनी आयोजना गर्न लागेको हो ।
महासङ्घका अनुसार हस्तकला क्षेत्रले लाखौँ व्यक्तिलाई स्वरोजगारको अवसर सिर्जना गरिरहेको छ । भारत, चीनलगायत तेस्रो मुलुकहरूमा वार्षिक करिब २८ अर्ब रुपैयाँ बराबरका विभिन्न हस्तकला सामग्री निर्यात भइरहेका छन् । जानकारहरूका अनुसार कृषिजन्य उद्योगपछि देशभर विस्तार गर्न सकिने सम्भावनायुक्त क्षेत्रका रूपमा हस्तकलालाई हेरिएको छ । यसले नेपालको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्वसमेत गर्दै आएको छ ।
महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य ले आज आयोजित पत्रकार सम्मेलनमार्फत मेलाका मुख्य आकर्षणबारे जानकारी दिएका हुन् । उनका अनुसार मेलामा हस्तकला प्रदर्शनी तथा बिक्री, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकार तथा कालिगढको सीप प्रदर्शन, स्थानीय उत्पादन र परम्परागत परिकारको स्वाद प्रस्तुत गरिनेछ ।
मेलामा काठमाडौँ उपत्यकासहित सङ्खुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायत जिल्लाका स्थानीय सङ्घहरूको सहभागिता रहने बताइएको छ ।
कार्यक्रमबाट स्थानीय हस्तकला उत्पादनको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा स्थानीय कलाकार र कालिगढहरूको सीप, क्षमता र मनोबल अभिवृद्धि हुने विश्वास आयोजकको छ । साथै मूर्त तथा अमूर्त कला–संस्कृति र परम्परागत परिकारको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।मेलामा हस्तकलासहित नेपाली निकासी सम्भावना भएका अन्य वस्तुहरूका करिब ७० वटा कक्ष राखी वस्तु तथा सेवा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।