टोखा–छहरे सुरुङमार्गबारे विकल्प खोज्न परराष्ट्रमन्त्री शिशिर खनालको प्रस्ताव
काठमाडौं जेठ ३ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । टोखा नगरपालिका ले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि आयोजना गरेको सल्लाह तथा सुझाव सङ्कलन कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
काठमाडौं क्षेत्र नं. ६ का सांसदसमेत रहेका मन्त्री खनालले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर भावी पुस्ताले सम्झिने खालका योजनामा काम गर्ने बेला आएको बताए । “अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेका जनप्रतिनिधिसँग छ,” उनले भने ।
उनले टोखाको दक्षिणी भेग बाक्लो बस्तीले भरिएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन रहेको उल्लेख गर्दै व्यवस्थित शहरी विकासमा ध्यान दिनुपर्ने बताए । टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । साथै, टोखामा ‘होमस्टे’ विकासको सम्भावना पनि रहेको उनको भनाइ थियो ।
मन्त्री खनालले प्रस्तावित टोखा–छहरे सुरुङमार्ग विस्तार गर्दा धेरै बस्ती मापदण्डका कारण प्रभावित हुने अवस्था आउने भएकाले वैकल्पिक मार्गबारे सोच्नुपर्ने बताए । उनका अनुसार साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न सके कम लागत र कम क्षतिमा अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण सम्भव हुनेछ ।
उनले नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै कर तिर्नेदेखि सामान्य सिफारिससम्मका सेवा घरबाटै लिन सकिने ‘डिजिटल प्रणाली’ लागू गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
कार्यक्रममा हरिप्रभा खड्गी श्रेष्ठ ले जनताको अपेक्षाअनुसार नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउँदै विकासको काममा राजनीति गर्न नहुने धारणा राखिन् । पूर्वमन्त्री वंशीधर मिश्र ले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण र कार्यान्वयनमा जोड दिए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ले जनताबाट प्राप्त सुझावलाई समेटेर आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गरिने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई ले सामाजिक विकासलाई प्राथमिकतामा राखेर दिवा खाजा कार्यक्रम, मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता, सार्वजनिक जग्गा संरक्षण तथा विभिन्न खोलामा करिडोर निर्माणजस्ता काम भइरहेको जानकारी दिए ।
हाल करिब १ लाख ३७ हजार जनसङ्ख्या रहेको टोखा नगरपालिकामा ११ वटा वडा रहेका छन् ।