बागमती, ३ जेठ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो दश महिनामा कुल रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।
प्रदेश सरकारको प्रमुख राजस्व स्रोतका रूपमा घरजग्गा रजिष्ट्रेसन शुल्क तथा सवारीसाधन कर रहेको छ । साउनदेखि वैशाखसम्मको अवधिमा यी शीर्षक तथा बाँडफाँटबाट मात्रै रु २० अर्ब एक करोड तीन लाख ८९ हजार राजस्व संकलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिनुभयो ।
त्यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत सोही अवधिमा रु ७ अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको छ । प्रदेश सरकारको आन्तरिक स्रोतबाट भने रु ३ अर्ब २४ करोड ५२ लाख ४१ हजार राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
तर, अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको पनि मन्त्रालयले स्वीकार गरेको छ । घरजग्गा तथा नयाँ सवारीसाधनको कारोबारमा आएको कमी, आर्थिक तरलता, साथै गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिले संकलन प्रभावित भएको अधिकृत सञ्ज्यालको भनाइ छ ।
प्रदेश सरकारले आगामी महिनामा राजस्व संकलनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।

