-हिक्मत डंगोल
काठमाडौं २०८३ जेठ ३ , पोखराको शान्त वातावरण, हिमालको छायाँ र कलाका विविध रंग यी तीनै तत्व एकै ठाउँमा मिसिँदा एउटा विशिष्ट अनुभूति जन्मिन्छ। यही अनुभूति सजीव बनाउँदै ‘हिमालयन इन्टरनेसनल आर्ट एक्जिवेसन एन्ड वर्कसप २’ हिजोदेखि पोखरामा सुरु भएको छ। अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशालाको यो श्रृंखलाले केवल चित्र र रङ मात्र होइन, संस्कृतिहरूबीचको संवादलाई पनि अघि बढाउने प्रयास गरेको देखिन्छ। पोखरा आर्ट ग्यालरीमा आयोजित कार्यक्रममा नेपालसहित विभिन्न देशका कलाकारहरू एकै थलोमा भेला भएका छन्।
कोही क्यानभासमा आफ्ना अनुभूति कोर्छन्, कोही आफ्नै सांस्कृतिक स्मृतिलाई रंगमार्फत अभिव्यक्त गर्छन्। हेर्दा फरक फरक शैली र भाषा भए पनि तिनले बोकेको भाव भने साझा छ,मानव अनुभवको। कार्यक्रममा कलाकार ओम प्रकाश गुप्ताले छिमेकी देशहरूबाट आएका पाहुनाहरूलाई स्वागत गर्दै कला कुनै सीमामा बाँधिन नसक्ने माध्यम भएको बताए। “यस्ता भेटघाटले कलाकारहरूबीच सम्बन्ध मात्र होइन, दृष्टिकोण पनि विस्तार हुन्छ,” उनले भने। उनले वरिष्ठ कलाकारहरूको उपस्थिति र अन्तर्राष्ट्रिय सहभागिताले कार्यक्रमलाई अझ समृद्ध बनाएको उल्लेख गरे। साथै, आगामी दिनमा पृथ्वीचोकतर्फ कार्यक्रम विस्तार गर्ने योजना पनि सुनाए,जसले कला अझै जनस्तरसम्म पुग्ने संकेत दिन्छ।
त्यस्तै, डा. कमला दीक्षितको अभिव्यक्ति व्यक्तिगत अनुभव र सांस्कृतिक बोधको संगम जस्तै लाग्थ्यो। पेशाले प्राध्यापक भए पनि चित्रकलाप्रतिको उनको लगाव स्पष्ट देखिन्थ्यो। “काशी विश्वनाथदेखि पशुपतिनाथसम्मको सम्बन्ध केवल धार्मिक होइन, सांस्कृतिक पनि हो,” उनले भनिन्, “त्यो सम्बन्ध कला मार्फत अझ प्रष्ट देखिन्छ।” उनको भनाइले एउटा गहिरो सत्य उजागर गर्छ,कला केवल सिर्जना होइन, इतिहास र पहिचानको निरन्तरता पनि हो। ‘हिमालयन इन्टरनेसनल आर्ट एक्जिवेसन एन्ड वर्कसप,२’ ले यसपटक केवल प्रदर्शनीमा सीमित नभई संवाद र सहकार्यको नयाँ आयाम थप्ने प्रयास गरेको छ।
विभिन्न देशका कलाकारहरूको सहभागिताले यसलाई साँचो अर्थमा अन्तर्राष्ट्रिय बनाएको छ। यहाँ प्रस्तुत कृतिहरूले फरक फरक भूगोल र जीवन अनुभवलाई एउटै क्यानभासमा ल्याएका छन्। अन्ततः, यो फेस्टिभलले एउटा सन्देश दिन खोज्छ, हिमालले जस्तै उचाइ र गहिराइ बोकेको कला, सीमाना नाघ्दै मानिसहरूलाई नजिक ल्याउन सक्छ। पोखरामा सुरु भएको यो रंगीन यात्रा, सम्भवतः अझ टाढासम्म फैलिनेछ।

