काठमाडौँ, ३१ वैशाखः टोखा नगरपालिका–३ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
तुख्यः क्लब टोखा, तुख्यः स्काउट क्र्यु टोखा, स्थानीय स्काउट कार्यालय तथा टोखा नगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र विशेषज्ञहरूले सेवा प्रदान गर्नेछन् ।
आगामी जेठ ३ गते आइतबार वडा कार्यालय परिसरमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने शिविरमा आँखाको निःशुल्क परीक्षण गरिनुका साथै मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिने आयोजकले जनाएको छ ।
आँखासम्बन्धी समस्याका कारण दैनिक जीवनमा असहजता भोगिरहेका नागरिकलाई राहत पुग्ने विश्वाससहित शिविर आयोजना गरिएको हो । विशेषगरी ज्येष्ठ नागरिक तथा उपचारबाट टाढा रहेका स्थानीयलाई लक्षित गर्दै सेवा उपलब्ध गराइने जनाइएको छ ।
आयोजक संस्थाले सम्पूर्ण नगरवासीलाई यो अवसरको लाभ लिन आग्रह गर्दै समयमै आँखा परीक्षण गराउन अनुरोध गरेका छन् ।
स्थानीय तह र सामाजिक संस्थाको सहकार्यमा सञ्चालन हुन लागेको यस्तो स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै धेरै नागरिकको जीवनमा उज्यालो थप्ने अपेक्षा गरिएको छ ।

