• TOKHA LIVE

    • ३० बैशाख २०८३, बुधबार २१:१४

    टोखा नगरपालिकामा श्रमिक अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौँ, ३० वैशाखः टोखा नगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा “श्रमको सम्मान राष्ट्रको अभियान” अन्तर्गत श्रमिकको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, (मुख्य प्रशासनिक अधिकृत), नगर प्रवक्ता  नगर प्रवक्ता बच्चुराज बस्याल लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    साथै, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा वडा सचिवहरूको सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

    कार्यक्रममा श्रमिकमाथि हुने अन्याय, समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । सहभागी वक्ताहरूले श्रमिकको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका भित्र कार्यरत कुनै पनि श्रमिक अन्यायमा परे श्रम डेस्कमा जानकारी गराउन आग्रह गर्नुभयो । “टोखा नगरपालिका तपाईंको न्यायका लागि सधैं प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख उदय कुमार गुप्ता (श्रम तथा रोजगार कार्यालय प्रमुख) ले श्रमिकका अधिकार, कानुनी व्यवस्था तथा श्रमसम्बन्धी प्रक्रियाबारे अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।

    त्यस्तै, श्रमिकको अधिकारका लागि कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्ना अनुभव, चुनौती तथा सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा श्रम डेस्कमार्फत श्रमिकका गुनासा सुन्ने, दर्ता गर्ने तथा समाधान गर्ने प्रक्रियालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

    श्रमिकहरूको अथक मेहनत र योगदानलाई कदर गर्दै ७० जना भन्दा बढी श्रमिकलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम पूर्ण रूपमा श्रममैत्री तथा श्रमिकको हक–अधिकारप्रति केन्द्रित रहेको थियो । कार्यक्रममा सहभागी श्रमिकहरूलाई सम्मान गर्दै उनीहरूको श्रम र समर्पण नै समाज तथा राष्ट्र निर्माणको आधार भएको उल्लेख गरिएको थियो ।

    कार्यक्रमको सहजीकरण रोजगार संयोजक सिर्जना आचार्य (रोजगार संयोजक) ले गर्नुभएको थियो भने स्वागत मन्तव्य विश्वास नेपालकी परियोजना संयोजक कमलन सापकाेटा (परियोजना संयोजक) ले राख्नुभएको थियो ।

    टोखा नगरपालिकाले यस्ता कार्यक्रममार्फत श्रमिकमैत्री वातावरण निर्माण गर्दै न्यायमा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।

    अन्त्यमा, कार्यक्रममा सहभागी सरोकारवाला निकाय तथा प्रतिनिधिहरूले श्रमिकमैत्री नीति निर्माण, प्रभावकारी कार्यान्वयन तथा न्यायमा सहज पहुँच सुनिश्चित गर्न समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । यस्तो पहलले स्थानीय तहमा श्रमिकको अधिकार संरक्षण गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै