काठमाडौँ, ३० वैशाखः केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट मंगलबार राति पक्राउ गरेको जनाएको छ।
सिआइबीका अनुसार मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। उनी काठमाडौंको रक्तकाली घर भई हाल ललितपुर–५ मानभवन बस्दै आएका ६३ वर्षीय व्यक्ति हुन्।
प्रहरीका अनुसार ‘स्मार्ट टेलिकम प्राली’ले दूरसञ्चार सेवा सञ्चालनका लागि २०७० वैशाख २ गते अनुमति लिए पनि नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो। त्यसपछि कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार तथा सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गएको थियो।
अनुसन्धानका क्रममा नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक हिनामिना गर्ने उद्देश्यले लोन रिकभरी कमिटीको अध्यक्षको हैसियतमा पाण्डे लिलामी प्रक्रियामा संलग्न रहेको आरोप लागेको प्रहरीले जनाएको छ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते जारी गरेको लिलामी सूचनामा घरबहाल तथा विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँसमेत बोलपत्रमार्फत उठाइएको उल्लेख छ। तर उक्त रकम घरधनी तथा सम्बन्धित निकायलाई नतिरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।