• TOKHA LIVE

    • ३० बैशाख २०८३, बुधबार १९:१७

    स्मृति , मिथक र समयको संवाद: ‘Impressions of Bhagwan Bahal’ को पुनर्कथन:

    • हिकमत डंगोल

    नदेखेको प्राचीन कला कस्तो हुन्छ? कल्पना गर्न गाह्रो हुँदैन। तर कहिलेकाहीँ सुनेको मात्रै होइन—कसैले अनुभव गरेको संसार सुन्दा पनि हामी त्यसलाई देखेजस्तै महसुस गर्छौँ। कलाकार माया गौचनले सुनाएको “ओह! कति अलौकिक! ठ्याक्कै उस्तै” भन्ने विस्मयले यही अनुभूतिको ढोका खोल्छ। काठमाडौंको मुटुमा अवस्थिभगवान बहाल] यतिबेला केवल ऐतिहासिक संरचना मात्र होइन, स्मृति र कलाको जीवित क्यानभास बनेको छ। कलाकासम्झना राजभण्डारी] को वुडकट प्रिन्ट प्रदर्शनी “Impressions of Bhagwan Bahal” यही बहालमा वैशाख २६ देखि २८ गतेसम्म सम्पन्न भयो। त्यसपछिका दिनहरूमा यो प्रदर्शनी दरबारमार्गस्थिGallery 108]मा निरन्तर जारी छ। ग्यालरी १०८ भित्र पस्नेबित्तिकै भित्ताभरि झुन्डिएका कृतिहरूले आगन्तुकलाई अर्को संसारमा पुर्याउँछन्—जहाँ समय स्थिरजस्तो लाग्छ तर स्मृतिहरू चलायमान छन्। स्कुले विद्यार्थी, युवायुवतीदेखि बूढापाकासम्म—सबै उमेर समूहका दर्शकहरू यहाँ कला अनुभव गर्न आइपुग्छन्। अझ रोचक कुरा के भने, पछिल्लो समय यहाँ विदेशीभन्दा स्वदेशी दर्शकको उपस्थिति बढी देखिन्छ, जसले नेपाली कलाप्रतिको बढ्दो आत्मीयता संकेत गर्छ। दायाँ–बायाँ सरेर हेर्दै जाँदा चित्रहरू केवल हेर्ने वस्तु होइनन्, अनुभूति गर्ने संसारजस्ता लाग्छन्। स्वयं कलाकार सम्झना राजभण्डारी भन्छिन्, “यो श्रृङ्खला तयार पार्दा मलाई अत्यन्त आनन्द आयो। नेपाली कागजमा विभिन्न रंग प्रयोग गर्दै बनाएका यी कृतिहरू तयार गर्न मलाई करिब दुई वर्ष लागेको हो। विषय नै मेरो मनपर्ने भएकाले झन् आत्मीय लाग्यो।” भैरवको चित्रतर्फ संकेत गर्दै उनले थपिन्, “सबैभन्दा ठूलो कुरा—मैले यसमा समयको गति दिन खोजेकी छु। दर्शकहरूले मन पराइदिनु भयो, त्यसमा मलाई गर्व छ।” प्रख्यात कलाकार रीता मानन्धरले पनि प्रदर्शनीको प्रभावबारे उत्साहपूर्वक भनिन्, – “ भगवान बहालमा गरिएको प्रदर्शनीले सर्वाधिक मन जितेको थियो। एक किसिमले मेला जस्तो लागेको थियो। विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो, र बहालका पूजारीसमेत कलाकारिताबाट चकित देखिन्थे।” यस प्रदर्शनीमा प्राचीन मिथक, सांस्कृतिक विरासत र समकालीन अभिव्यक्ति एउटै फ्रेममा मिसिएका छन्। राजभण्डारीका कृतिहरू केवल दृश्य प्रस्तुति होइनन्; ती उनका बाल्यकालका अनुभूति, पारिवारिक स्मृति र सांस्कृतिक जडसँगको गहिरो सम्बन्धका संवेदनशील अभिलेख हुन्। बाल्यकालमा भगवान बहालमा बिताएका क्षण—खेल, घुमफिर र त्यहाँको जीवन्त परिवेश—उनको सिर्जनाको आधार बनेका छन्। प्रदर्शनीमा समेटिएका २८ वटा वुडकट चित्रहरू बहालकै अंशहरू हुन्—देवदेवीका आकृति, काठका स्तम्भ, पुराना वास्तुशिल्प, धार्मिक प्रतीक र सांस्कृतिक परिवेश। यी सबैले नेवार सम्पदाको आत्मीयता र जीवित संस्कृतिलाई उजागर गर्छन्। भगवान बहाल, जसलाई विक्रमशील महाविहारका रूपमा पनि चिनिन्छ, काठमाडौं उपत्यकाको सांस्कृतिक–आध्यात्मिक इतिहाससँग गहिरो रूपमा जोडिएको स्थल हो। ठमेलको व्यस्तताभित्र लुकेको यो बहाल समयको मौन साक्षीझैँ देखिन्छ—जहाँ अतीत र वर्तमान सँगसँगै बाँचिरहेका छन्। यही परिवेशलाई राजभण्डारीले आफ्नो स्मृति, मिथकीय कथा र सांस्कृतिक चेतनासँग गाँसेर समकालीन दृश्य भाषामा पुनःअभिव्यक्त गरेकी छन्। उनले प्रयोग गरेको वुडब्लक प्रिन्टिङ प्रविधि आफैंमा ऐतिहासिक छ, जसको उत्पत्ति प्राचीन चीनमा भएको मानिन्छ। यही परम्परागत माध्यममार्फत नेपाली बौद्ध मिथकलाई नयाँ ढंगले प्रस्तुत गर्नुले प्रदर्शनीलाई थप गहिरो बनाएको छ। यसरी, परम्परा र आधुनिकताबीच सन्तुलित संवाद देखिन्छ। आजको नेपाली समकालीन कला केवल संरक्षणमा सीमित छैन; यो पहिचान, स्मृति, इतिहास र दर्शनमाथि प्रश्न उठाउने र संवाद गर्ने माध्यम बन्दै गएको छ। राजभण्डारीको यो प्रदर्शनी त्यही परिवर्तनको सशक्त संकेत हो। उनले परम्परालाई जोगाउने मात्र होइन, त्यसलाई पुनःव्याख्या गर्दै वर्तमानसँग जोड्ने प्रयास गरेकी छन्। अन्ततः, यस प्रदर्शनीमा भगवान बहाल एउटा भौतिक संरचना मात्र होइन—यो समय, स्मृति र संस्कृतिको जीवित प्रवेशद्वार बनेर उभिएको छ, जहाँ शताब्दीयौँ पुराना आवाजहरू आज पनि समकालीन कलामार्फत बोलिरहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै