• TOKHA LIVE

    • २९ बैशाख २०८३, मंगलवार २०:४१

    ट्राफिक कारबाहीबाट २४ घण्टामा २७ लाखभन्दा बढी राजस्व सङ्कलन

    काठमाडौँ, २९ वैशाख । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको विशेष जाँच अभियानमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २१२ जना सवारी चालक कारबाहीमा परेका छन् ।

    उक्त कारबाहीबाट रु २७ लाख ५७ हजार दुई सय राजस्व सङ्कलन भएको नेपाल प्रहरी अन्तर्गत उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८३ जना चालक कारबाहीमा परेका छन् । त्यसैगरी राइड सेयरिङमा १७९, रातोबत्ती उल्लङ्घन गर्ने १३१, तीव्र गतिमा सवारी चलाउने १३९, लेनक्रस गर्ने ९२, फुटपाथ प्रयोग गर्ने १०७, हर्न निषेध उल्लङ्घन गर्ने १२४ तथा एकतर्फी सडकमा सवारी चलाउने १५० जना चालकलाई कारबाही गरिएको छ ।

    अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका घटनामा एक हजार २०७ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ ।

    प्रवक्ता सुवेदीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएकाले यस्ता गतिविधिबारे जानकारी पाएमा तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै