• TOKHA LIVE

      TOKHA LIVE

    • २८ बैशाख २०८३, सोमबार ०९:५४

    नेपाल स्काउट बागमती प्रदेशद्वारा प्रथम गिलविल एडभान्स रियुनियन सम्पन्न

    नविना श्रेष्ठ
    वैशाख २०८३ ,२८

    काठमाडौं / नेपाल स्काउट बागमती प्रदेश हेटौंडाद्वारा आयोजित प्रथम गिलविल एडभान्स रियुनियन कार्यक्रम टोखा नगरपालिका–२ स्थित भिल्ली भाजु नसः सभा हलमा सम्पन्न भएको छ।

    नेपाल स्काउट बागमती प्रदेशका प्रमुख आयुक्त शिवकुमार त्वायनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला केसी नेपाल प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्तहरू महेन्द्रराज रञ्जित र लोकबहादुर भण्डारी, राष्ट्रिय सह–प्रमुख पुष्पलता भट्टराई, नेपालको पहिलो महिला ‘फोर बिड्स’ प्राप्त स्काउटर दिल शोभा तुलाधर, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्मचारी, पूर्व राष्ट्रिय तालिम आयुक्त भक्तराज भण्डारीसहित विभिन्न जिल्लाका स्काउट नेतृत्व, प्रशिक्षक, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, चितवन, रसुवा, नुवाकोट र धादिङबाट आएका स्काउटर लिडरहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको आयोजकले जनाएको छ।

    कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले “गिलविल” नाम विदेशस्थित एक पार्कसँग सम्बन्धित रहेको उल्लेख गर्दै टोखामा पनि “गिलविल पार्क” निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

    त्यस्तै, प्रमुख अतिथि मन्त्री उर्मिला केसी नेपालले स्काउटलाई अनुशासन, इमान्दारिता र सेवाभावको प्रतीक संस्था भएको उल्लेख गर्दै नेपाल स्काउटलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन सबैले हातेमालो गर्नुपर्ने बताइन्। उनले बागमती प्रदेश सरकार नेपाल स्काउटसँग सधैं सहकार्य र सहयोगमा रहने प्रतिबद्धता समेत जनाइन्।

    कार्यक्रममा स्काउटका संस्थापक लर्ड बेडन पावेलको भनाइ “एउटा स्काउटले कुनै पनि पुरस्कारको आशा नराखी सहयोग गर्छ” तथा “साँचो स्काउट कठिन परिस्थितिमा पनि मुस्कुराउन सक्छ” भन्ने प्रेरणादायी सन्देश प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, समाजसेवी हेराकाजी महर्जन डंगोल तथा सभाहल व्यवस्थापनमा सहयोग पुर्‍याउने केश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

    राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा एडभान्स स्काउट लिडरहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

    बागमती प्रदेशद्वारा आयोजित उक्त रियुनियन कार्यक्रमका संयोजक डा. प्रणवमान कर्मचारी रहेका थिए भने धर्मभक्त मल्ल र नविना श्रेष्ठको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन नविना श्रेष्ठले गरेकी थिइन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै