काठमाडौँ, १२ वैशाख/आइसिसी विश्वकप लिग २अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले प्रभावशाली जित हात पारेको छ।
कीर्तिपुरस्थित कीर्तिपुरस्थित त्रिवि मैदानमा आज सम्पन्न खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोड्यो। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा १६३ रनमै अलआउट भयो।
युएईका लागि हरप्रीत सिंहले ३९ रन र कप्तान मोहम्मद वसीमले ३४ रन बनाए पनि टोलीलाई जिततर्फ लैजान सकेनन्। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिएर जितमा महत्त्वपूर्ण योगदान गरे।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो। नेपालको इनिङ्समा दीपेन्द्रसिंह एरीले सर्वाधिक ७५ रन बनाए। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे।
सुरुआत भने नेपालको कमजोर रह्यो। आसिफ शेख ७ रनमा आउट हुँदा कप्तान रोहित पौडेलl केवल २ रनमै पवेलियन फर्किए। त्यसपछि कुशल भुर्तेल (२४), बसिर अहमद (२०) र करण केसी (२२) ले मध्यम योगदान दिए। अन्य खेलाडीमा भीम सार्कीले १० तथा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोडे।
युएईका लागि जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान ३–३ विकेट लिए।
अब नेपालले वैशाख १४ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ टोलीले यस लयलाई कायम राख्ने लक्ष्य लिएको छ।