काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदीकिनारमा बसोबास गर्दै आएका परिवारहरूको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्।
हरेक वर्ष बाढी आउँदा हजारौँ मानिसले ज्यान जोगाउन मात्रै आफ्नो सबै सम्पत्ति छोडेर भाग्नुपरेको पीडादायी दृश्य दोहोरिँदै आएको उल्लेख गर्दै उहाँले अब यस्तो अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
“कति दिनसम्म हामी सम्भावित दुर्घटनाको पर्खाइमा बसिरहने?” भन्दै बालेन्द्र शाहले वर्षौँदेखि दोहोरिँदै आएको समस्या अब अर्को वर्षका लागि पनि थाती राख्न नहुने बताएका छन्। उहाँका अनुसार नागरिकलाई जोखिमपूर्ण ठाउँमा राखिराख्नु उनीहरूको अधिकार होइन, बरु सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको दायित्व हो।
नदीकिनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणालीमा अवरोध पुग्ने र काठमाडौँका नदी–खोलाहरू प्रदूषित तथा दुर्गन्धित बन्दै गएको उल्लेख गर्दै उहाँले यसले शहरको समग्र व्यवस्थापनमा असर पारेको बताए।
थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका बस्तीहरूलाई कुनै बल प्रयोग नगरी, मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको पनि उनले स्पष्ट पारे।
साथै, वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूलाई उचित व्यवस्थापन र जग्गा उपलब्ध गराउने सरकारको प्रतिबद्धता रहेको उहाँले दोहोर्याएका छन्। “देशभरका वास्तविक पीडितलाई छुट्याएर न्यायपूर्ण समाधान दिन्छौँ,” प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री शाहका अनुसार लामो समयदेखि थाँती रहेको यो समस्या अब स्थायी समाधानतर्फ अघि बढाइनेछ, ताकि भविष्यमा कुनै पनि नागरिकले बाढीको डरमा बाँच्न नपरोस्।

