• TOKHA LIVE

    • १० बैशाख २०८३, बिहीबार २०:५३

    गोरखा सङ्ग्रहालय बन्यो आकर्षणको केन्द्र, एक वर्षमै १.३४ लाख पर्यटक

    काठमाडौँ, वैशाख १० । ऐतिहासिक गोरखा सङ्ग्रहालयमा पर्यटकको आकर्षण बर्सेनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा एक लाख ३३ हजार ९९१ जना पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीका अनुसार नेपाल एकीकरणको उद्गम थलोका रूपमा रहेको गोरखामा ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा अध्ययन र भ्रमणका लागि आउनेहरूको सङ्ख्या वृद्धि भएको हो । गत वर्ष पर्यटक प्रवेश शुल्कबाट ३० लाख ४५ हजार रुपियाँ राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख कार्कीका अनुसार सङ्ग्रहालय अवलोकन गर्नेहरूमा विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य छ । गत वर्ष ४४ हजार ७० जना विद्यार्थी र ८७ हजार २१९ जना आम नेपाली नागरिकले सङ्ग्रहालयको भ्रमण गरेका थिए । त्यस्तै, सार्क राष्ट्रका १६० जना र अन्य विदेशी मुलुकका दुई हजार ५४२ जना पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

    “सङ्ग्रहालयको वास्तुकला, शाह वंशको इतिहास, नेपाल एकीकरणको अभियान र यहाँ सुरक्षित गरिएका ऐतिहासिक सामग्रीहरूको अध्ययनका लागि पर्यटकहरू आउने गरेका छन्,” प्रमुख कार्कीले भन्नुभयो ।

    सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई १०, अन्य नेपाली नागरिकलाई २५, सार्क राष्ट्रका नागरिकलाई ५० र अन्य विदेशी पर्यटकका लागि १०० रुपियाँ शुल्क निर्धारण गरिएको छ । हाल यो सङ्ग्रहालय हप्ताको सातै दिन सर्वसाधारणका लागि खुला रहने व्यवस्था मिलाइएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै